काठमाडौँ ।  नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी दिनमा आफू थप उत्साह र ऊर्जाका साथ पार्टी काम गर्ने बताउनुभएको छ । कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले आफूले सदैव पार्टीलाई केन्द्रमा राखेर काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता दोहो¥याउनुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका उहाँ पार्टीको हालै सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजय हुनुभएको थियो । महाधिवेशनमा आफू समूहगतरूपमा निर्वाचनमा गएको भए पनि महामन्त्री पदमा अपेक्षितरूपमा समूहगत भोट नआएको उहाँको गुनासो थियो । पार्टीका निवर्तमान सहमहामन्त्री डा महतले निर्वाचनको मतपरिणामका बारेमा पार्टीका सार्थीहरुले आगामी दिनमा समीक्षा गर्दै जाने बताउनुभयो ।

मतदानमा अनेक बाधा व्यवधानका बाबजुद प्राप्त गरेको मत आफ्ना लागि सबल पक्ष भएको बताउँदै उहाँले अहिलेको अवस्थालाई देशभरका नेताकार्यकर्ता माझ आफूलाई थप चिनाउने बुझाउने अवसरका रूपमा लिने उल्लेख गर्नुभयो । मतदानमा अपेक्षित परिणाम नआएको भए पनि पार्टीमा आफ्नो हैसियतअनुसार काम गर्दै जाने उल्लेख गर्दै नेता डा महतले सबैले पार्टीलाई संस्थागतरूपमा अघि बढाउन लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !