चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको आज सम्पन्न चौथो पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशनका लागि पुस १७ गते प्रतिनिधि छनोट गर्ने कार्यक्रम तय गरेको छ ।

एमाले केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका ९८ वटा वडा र दुई शाखा कमिटी गरी एक सय ईकाईबाट प्रतिनिधि छनौट गरिने छ । जस अन्तर्गत तीन सय सदस्य बराबर तीन जना प्रतिनिधि हुनेछन् । तीन प्रतिनिधिमा एक जना महिला अनिवार्य गरिएको छ । यस्तै सात पालिकालाई आधार मानेर एक सय दलित सदस्य बराबर तीन जना प्रतिनिधि हुनेछन् । ती तीन जना प्रतिनिधि मध्ये एक जना दलित महिला अनिवार्य गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो । यस्तै मुस्लिम, अपाङ्गता, मधेशीबाट जिल्लालाई आधार मानेर तीन÷तीन जना प्रतिनिधि हुनेछन् । ती तीन जना प्रतिनिधिमध्ये एक÷एक जना महिला अनिवार्य गरिएको छ ।

बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । जस अनुसार अध्यक्ष रावलको संयोजकत्वमा राजनीतिक, सांगठनिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ । समितिका सदस्यमा सचिव प्रकाश खनाल शैलेस, उपसचिवद्वय प्रकाश ढुंगाना, सूर्यबदना हमाल र तिलक रिमाल रहनु भएको छ । यस्तै प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा प्रकाश खनाल शैलेस, स्वागत सत्कार उपसमिति संयोजकमा सूर्यबदना हमाल, आर्थिक व्यवस्थापन उपसमिति संयोजमा प्रकाश ढुंगाना, प्रचार प्रसार उपसमिति संयोजकमा खोमकान्त रेग्मी, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा भक्ती गौतम, खाद्य व्यवस्थापन उपसमिति संयोजकमा पदमपाणी सुवेदी, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा धु्रव लम्साल, स्वास्थ्य उपसमिति संयोजकमा रामहरि ढकाल रहनु भएको छ ।

बैठकमा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य एवं चितवन जिल्ला ईन्चार्ज काशिनाथ अधिकारीले पुस २३ गते पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्ने जानकारी दिनुभयो । उहाँले जिल्ला अधिवेशनलाई व्यवस्थित र सभ्य रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो । सो अवसरमा पार्टीका केन्द्र तथा प्रदेश कमिटीका नेताहरुले सम्बोधन गर्नुभएको थियो । पार्टी अध्यक्ष रावलले जिल्ला अधिवेशन पार्टी कार्यालयमा गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले तडकभड नगरी अधिवेशन सम्पन्न गरिने बताउनुभयो । पुस २३ गते उद्घाटन र प्रतिवेदनहरु पारित गरिने र २४ गते नेतृत्व चयनको प्रक्रिया पूरा हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !