चितवन ।  नारायणी नदी किनारमा मङ्गलबार साँझ सचेतनामूलक सांस्कृतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ सम्पन्न भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गरेको ‘सप्तरङ्ग’मा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए ।

उक्त कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिँदै छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सम्पन्न गरेर सप्तरङ्ग समूहले यहाँ कार्यक्रम गरेको हो । ब्रोडकाष्टिङका सञ्चालक गेहेन्द्र घिमिरेले ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरङ्ग’को मूल आशय रहेको बताउनुभयो । पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित थियो । कला संस्कृतिलाई उजागर गर्दै यही मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा पुगेर अन्त्य हुने उहाँले जानकारी दिनुभयो ।

काँकडभिट्टालगत्तै मङ्सिर २६ गते जनकपुर, २८ गते चितवन, पुस १ मा नेपालगञ्ज, पुस ३ मा सुर्खेत, पुस ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडल उषा उप्रेतीलगायतका कलाकारको सहभागिता हुने गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘सप्तरङ्ग–३’ कार्यक्रमले मनोरञ्जनसँगै सचेतना जगाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रमबाट मनोरञ्जनमात्रै नभएर सचेतनाका लागि महत्वपूर्ण कडी बन्ने छ ।” यसले जिल्लाको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले समुदाय र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि प्रहरीको सहकार्यमा कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !