काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

हिजो मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २ हजार ३११ मत आवश्यक पर्नेमा देउवाले २ हजार ७३३ मत पाएर निर्वाचित भएका हुन् ।

देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १ हजार ८५५मत पाए । दोस्रो चरणको निर्वाचनमा ३५ मत बदर भएको थियो ।

सभापति चयनका लागि भएको निर्वाचनमा पाँच जना उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए । तर, पाँचै जनाले पार्टी विधानअनुरुप ५० प्रतिशत मत कटाउन नसक्दा दोस्रो चरणको निर्वाचन गर्नु परेको थियो ।

पहिलो चरणको मतदानमा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले २ हजार २५८ मत र निकटतम प्रतिस्पर्धी बनेर डा. शेखर कोइरालाले १ हजार ७०२ मत प्राप्त गरेका थिए । त्यस्तै अन्य उम्मेदवारहरू कल्याणकुमार गुरुङले २२ मत, प्रकाशमान सिंहले ३७१ मत र बिमलेन्द्र निधिले २५० मत प्राप्त गरेका थिए ।

दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गरेका थिए । देउवा १३औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गरेर पहिलोपटक सभापति निर्वाचित भएका थिए ।

पौडेल समूहमा उम्मेदवार को हुने भन्ने कलह चलिरहँदा कोइराला बलिया उम्मेदवार बनेर मैदानमा निस्किएका थिए । सिंहले आफ्नो उम्मेदवारी नछाडेपछि पौडेल समूहबाट दुई जना उम्मेदवार भएका थिए ।

निधि र सिंह दुवै मिलेपछि देउवाले सहज जित निकालेका हुन् । देउवा डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस–५ मा जन्मिएका देउवा पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा रहेर काम गर्दै आएका हुन् । उनी पाँचौंपटक प्रधानमन्त्री भएर काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !