चितवन । चितवनको रत्ननगरमा सुकुमबासी समुदायले लालपुर्जाको माग गर्दै प्रर्दशन गरेका छन्। सरकार परिर्वतन भए पनि लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुमबासी समुदाय आन्दोलित बनेका हुन्। नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगरले मंगलबार दवाबमुलक र्‍यालीसहित प्रर्दशन गरेका हुन्।

नेताहरुले सुकुमबासीलाई भोट बैंकको रुपमा प्रयोग गर्दै आएको भन्दै उनीहरुले प्रर्दशनको मुख्य नारा नै ‘नों लालपुर्जा नो भोट’ बनाएका छन्। लालपुर्जा नपाएसम्म आगामी तीनै तहको निर्वाचनमा भोट नहाल्ने अठौटसहित अन्तिम लडाइका रुपमा सुकुमबासीहरु सडकमा आएका हुन्। र्‍यालीमा रत्ननगरसहित चितवनका सयौं सुकुमबासी समुदायको सहभागिता थियो।

र्‍यालीमा सहभागीहरुले नों लालपूर्जा नों भोट,बसोबासका आधारमा लालपुर्जा देऊ, झुटको राजनीति बन्द गर, असमान भूमि नीति खारेज गर, उधारोमा भोट माग्ने प्रथा अन्त्य गर, आश्वसन होइन लालपुर्जा वितरण गर लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए। र्‍यालीमा बाच्चादेखि वृद्धसम्म सहभागी थिए।

रत्ननगरको निपनी चोकबाट सुरु भएको र्‍याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो। सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रुपमा देशव्यापी अभियान सुरु गरेको बताए।

लालपुर्जा नपाएसम्म आगामी तीनै तहको निर्वाचनमा सुकुमबासी समुदायले भोट नहाल्ने उनको भनाइ छ। नेपालमा ७० लाख सुकुमबासी र ४० लाख मतदाता रहेको भन्दै उनले लालपुर्जा नपाए ४० लाख सुकुमबासीले निर्वाचत बहिस्कार गर्नेसमेत चेतावनी दिए। ‘अहिलेसम्म १६ वटा आयोग बने,’ उनले भने, ‘त्यो १६ वटा आयोगले १६ घर धुुरीलाई समेत लालपुर्जा दिन सकेन।’

नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगरका अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव राजु तामाङ, जिल्ला अध्यक्ष छविलाल देवकोटा, आकृति महिला सहकारीकी अध्यक्ष फूलकुमारी लामालगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस !