चितवन । नेकपा (एमाले)को सौराहामा जारी महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशन गरेको छ ।

सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको हो ।

पदाधिकारीअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ । एक जना अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै, छ जना उपाध्यक्षको लागि सात जना र सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको परेको छ ।

खुला ८४ जना केन्द्रीय सदस्यमा ८५ जनाको मात्रै उम्मेदवारी परेको छ । त्यहाँ निर्वाचन हुनेछ । खुला (महिला)तर्फ पनि ५३ जनाका लागि ५४ जनाको उम्मेदवारी परेको छ।

भौगोलिक प्रदेशको खुला समूहमा मतदान हुने देखिन्छ । प्रदेश १ को खुला सदस्यका लागि छ जना सदस्यको लागि नौ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, बागमती प्रदेशमा छ जना सदस्यका लागि आठ जना, कर्णाली प्रदेशमा छ जना सदस्यका लागि सात जना र सुदूरपश्चिम प्रदेशमा छ जना सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । भौगोलिक प्रदेशअन्तर्गत सुदूरपश्चिमबाहेक सबै प्रदेशमा महिला आरक्षणअन्तर्गतको उम्मेदवारहरु निर्विरोध निर्वाचित हुने देखिन्छ । सुदूरपश्चिममा भने तीन जना सदस्यका लागि छ जनाको उम्मेदवारी परेको छ ।

उपत्यका प्रदेश र सम्पर्क समन्वयबाट निर्विरोध निर्वाचित हुने देखिन्छ। समावेशी समूहअन्तर्गत अधिकांश पदमा निर्वाचन हुने देखिन्छ । आदिवासी जनजातिको खुलातर्फ १७ सदस्यका लागि १९ र महिलातर्फ आठ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ ।

मधेसीको खुलातर्फ १३ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । मधेसी समूहको महिला आरक्षणतर्फ उम्मेदवारी दिएका सबै निर्विरोध निर्वाचित हुने भएका छन् । त्यस्तै, दलितको खुलातर्फ आठ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महिला आरक्षणमा निर्विरोध हुने देखिन्छ । थारुको खुलातर्फ पाँच सदस्यका लागि छ जनाको र महिलातर्फ दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलामा चार जनाका लागि छ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्रअन्तर्गत खुलातर्फ तीन जना सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । दाबी विरोधका लागि आयोगले उम्मेदवारको सूची प्रकाशन गरे पनि अन्तिम सूचीमा केही नामहरु हट्न सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !