काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत हुनुभएको छ ।समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजिनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिनुभएको राजिनामा पार्टीको विधानबमोजिम आजै स्वीकृत गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य हुनुहुन्थ्यो ।कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको हो । त्यसयता अधिकांश जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !