चितवन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताउनु भएको छ । प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने ओलीको भनाइ थियो ।

दसौं महाधिवेशनको बन्दसत्रलाई आज सम्बोधन गर्ने क्रममा ओलीले एकतामा जोड दिन नेता र कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । ‘पार्टीभित्र आन्तरिक एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,’ उहाँले भन्नुभयो ।

पार्टी एकताका लागि नेता र कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिदै ओलीले, ‘तपाईंहरू दृढतापूर्वक एकताको पक्षमा संघर्ष गर्नुहुन्नथ्यो भने आज यो महाधिवेशनमा यो हैसिसयतका साथ उपस्थित हुने थिएनौं । हिजो उद्घाटन सत्रमा त्यस हैसियतमा हुने कल्पना पनि गर्नसक्ने अवस्थामा थिएनौं ।’

एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको पनि बताउनुभयो । बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताउनुभयो ।

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उहाँले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताउनुभयो । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताउनुभयो ।

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !