चितवन । नेकपा एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक समेत रहेका नेता रामबहादुर थापा (बादल) ले महाधिवेशनबाट सकेसम्म सहमतिमा नेतृत्व चयन हुने बताएका छन्।

बिहीबार विहान साढे ११ बजे भरतपुर विमानस्थलमा अवतरण भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता बादलले सकेसम्म सहमतिमै नेतृत्व चयन हुने बताएका हुन्। तर,केही पदहरुमा निर्वाचन हुन सक्ने उनको भनाइ थियो।

‘स्थानीय तहमा पनि हामीले सहमतिमा नै नेतृत्व र प्रतिनिधि चयन गरेका हौं। केन्द्रीय समितिले पनि महाधिवेशन सहमतिमै गर्ने भनेको छ’ बादलले भने, ‘केही पदमा निर्वाचन हुन सक्छ।’

तपाईं कुन पदमा उठ्ने तयारीमा हुनुहुन्छ भनेर पत्रकारहरुले सोधेको प्रश्नमा बादलले भने, ‘हामी टुंगोमा पुगेका छैनौं। यो बीचमा छलफल गरेर निर्णयमा पुग्छौं।’

उनले महाधिवेशनको तयारी सकिएको बताए।

प्रतिक्रिया दिनुहोस !