चितवन । चितवनमा हुन लागेको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान सौराहामा प्रतिनिधिका लागि हल निर्माणसँगै सौराहालाई झकिझकाउ बनाइएको छ ।

सौराहाको होटल सेभेन स्टारमा एमालेको ११ र १२ मंसिरमा बन्द सत्र हुने छ । होटल सेभेन स्टारको प्रवेशमार्गको भित्तामा चित्रकला प्रस्तुत गरिएको छ । चितवन र नवलपरासीका ३० भन्दा बढी कलाकारले भित्तामा चित्र कोर्दै छन् ।

रत्ननगरको वल्र्ड आर्ट लिंकको संयोजनमा भित्तामा चित्र कोर्ने प्रतियोगिता आयोजना गरिएको हो । कलाकारहरुले ‘समुद्ध नेपाल, सुखी नेपाली’ अभियान झल्कने चित्रहरु भित्तामा कोर्ने कलाकारहरुलाई प्रशिक्षण दिँदै आएका रत्ननगरका कलाकार योगेश खनालले बताए । उत्कृष्ट चित्र बनाउने कलाकारहरुलाई एमाले अध्यक्ष केपी ओलीले नगद पुरस्कारसहित प्रमाणपत्र दिने उनले बताए ।

‘कलाकारहरुले प्रतिस्पर्धात्मक रुपमा आफ्नो कला प्रस्तुत गर्नु भएको छ । समृद्ध नेपाल सुखी नेपालीमा आधारित रहेर उहाँहरुले चित्र बनाउनु हुनेछ’, उनले भने, ‘कसैले यहाँ रेल गुडिरहेको बनाउनुभएको छ । कसैले खुसी भएको परिवार देखाउनुभएको छ भने कसैले केबलकार पनि बनाउनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस !