चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अंकित गैंडाको मस्कटको मूर्ति तयार भएको छ । यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिने छ । मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिँदै छ ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग पुरा हुने चरणमा छ । उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैंडाको मस्कटसहित केहि सेल्फि प्वाइन्ट निर्माण गरिएका छन् ।

चितवन दुर्लभ एकसिंगै गैंडाले परिचित भएकाले एमालेले महाधिवेशन लोगोमा गैंडाको मस्कट राखेको हो । भरतपुुर महानगरपालिका–९ का मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैंडाको मस्कटको मूर्ति बनाएका हुन् ।

एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैंडाको मस्कट तयार गरेको हो । गैंडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य मध्यरात बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैंडाको मस्कट बनाइएको हो ।

यो मूर्ति बनाउनुअघि सुरुमा माटोको नमुना मूर्ति बनाइएको हो । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छाैँ, कलाकारिताको काम यसमा हुन्छ ।

त्यसपछि अर्काे आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लाष्टरको डाइ बनाएम । त्यसपछि डाइका टुक्राहरु जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रुप तयार भयो’, उनले भने ।

तेस्रो चरणमा मात्रै प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरिरजस्तो देखिनेगरि ‘मिक्स’ गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ ।

आरामले बनाएको भए मस्कट बनाउन कम्तिमा दुई महिना लाग्थ्यो । आकस्मिक रुपमा बनाउनु परेकाले मूर्तिकारहरुको टिमले दिनरात नभनि काम गरेर १० दिनमा तयार पारेको उनले बताए ।

‘दिनमा मात्रै गरेर सम्भवै थिएन । तीन वटा टोली बनाएर १०औँ दिनमा मूर्ति तयार गरियो’, उनले भने । तीन वटा टोली भएर १० जना मूर्तिकारले मस्कट तयार गरेका हुन् । मूर्तिमा प्रयोग हुने फाइबर र रेजिनको मूल्य अत्याधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए ।

‘भारतबाट आयात हुने चिज हो । पहिला केजीको २७० रुपैयाँसम्म पर्ने रेजिन अहिले केजीको चार सयसम्म परेको छ’, उनले भने, ‘डेढ लाख जति त कच्चा पदार्थमै प्रयोग भएको छ । मूर्तिकारहरुको पारिश्रमिक पनि जोड्दा साढे तीन लाख भन्दा बढी लागत पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस !