चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर चितवन जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले विशेष सुरक्षा व्यवस्था मिलाएर सुरक्षाको काम भइरहेको जानकारी दिए।

जिल्ला सुरक्षा समितिको बैठकले बसेर महाधिवेशनलाई ध्यानमा राख्दै आवश्यक प्रबन्ध मिलाइएको हो। एसपी अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा खटिएका बताए।

एमालेको महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर एक हजार २७० जना सुरक्षाकर्मीहरु खटिने भएका छन्। झण्डै पाँचलाखको जनसहभागीता गराउने एमालेले तयारी गरेपछि त्यसै अनुसार ठूलो संख्यामा सुरक्षाकर्मीहरु पनि परिचालन गर्न लागिएको हो।

महाधिवेशनको उद्घाटन स्थलदेखि बन्दसत्र सम्मको क्षेत्रमा ८२१ नेपाल प्रहरी, ४४९ सशस्त्र प्रहरी परिचालन हुन लागेका हुन्।

यस्तै राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि खटिने छन्, भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका तर्फबाट सादा पोशाकमा पनि प्रहरी कर्मचारीहरु खटिने छन्।

जिल्ला सुरक्षा समितिले महाधिवेशन उद्घाटनको दिन मंसिर १० गते भने मुख्य बजारक्षेत्र, कार्यक्रम स्थल लगायतका क्षेत्रहरुमा सवारी साधन सञ्चालन निषेध गर्ने निर्णय गरिसकेको छ।

चितवन बजार क्षेत्र, केन्द्रीय बसपार्क र आपटारी क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म रोक लगाइने भएको छ।

‘१० गते मानिसहरुको उपस्थिति धेरै हुने भएकाले सुरक्षा र ट्राफिक हिसाबले पनि केही असहज हुन्छ नै,’ एसपी अधिकारीले भने, ‘त्यही भएर हामीले सवारीसाधन सञ्चालनमा निषेध गरेका हौं।’

व्यवस्थापन चुनौती पूर्ण भएपनि सकेसम्म सुरक्षा निकायले सहज बनाउन प्रयास गर्ने उनको भनाइ छ।

चितवनमा एमालेको महाधिवेशनलाई लक्षित गरेर नै साढे ६ सय सुरक्षाकर्मी मातहतका अन्य निकायबाट झिकाइएको छ।

यस्तै नारायणी पारी नवलपुर क्षेत्रमा पश्चिमबाट आउने सवारी साधनको व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसतर्फ पनि आवश्यक सुरक्षा व्यवस्थापन मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस !