काठमाडौं । पत्रकारहरू पार्टीका प्रतिनिधि र सदस्य बनेको पाइएमा नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताएको छ।

पार्टी प्रतिनिधि र सदस्य बनेकालाई महासंघले सदस्यता नै खारेज गर्ने चेतावनी दिएको छ।

पत्रकार महासंघका पदाधिकारी, सदस्य र साधारण सदस्य विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेको खबर आइरहेका छन्।

पत्रकारहरू दलमा आवद्ध भएकोबारे महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ,’ महासचिव रोशन पुरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले महासंघको विधानअनुसार ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी र सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको समेत उल्लेख गरेका छन्।

राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने चेतावनी महासंघको छ।

प्रतिक्रिया दिनुहोस !