काभ्रेपलाञ्चोक ।  बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ ।किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो । बिहीबारदेखि लागेको मेलामा शनिबार बिहानसम्म एक लाखभन्दा बढीले नमोबुद्धको दर्शन–पूजाअर्चना गरेको मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गएरातभरि नमोबुद्धमा मेला लागेको थियो । मेलामा परम्परागत गीत–नृत्य प्रस्तुत गर्नेको उत्तिकै भीड थियो ।

कोरोना महामारीका कारण बितेका दुई वर्ष मेला रोकिएपछि यो वर्ष नमोबुद्धको मेलामा घुइँचो बढेको बताइएको छ । बितेको दुई वर्ष औपचारिक पूजाअर्चना गरी जात्रा मनाइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताउनुभयो । मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बाल्ने गरिन्छ । “बर्सेनि पितृलाई बत्ती बाल्ने गर्थे दुई वर्ष पाइन, यो वर्ष फेरि आएँ”, च्याम्राङ्बेँसीका कुलमान स्याङ्तानले भन्नुभयो । उहाँको परिवारका सबैजना मेला भर्न बिहीबारदेखिनै नमोबुद्ध आउनुभएको छ । विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीहरुले मेला भर्ने नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताउनुभयो । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको थियो ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माएका बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो । लामागुरुले भन्नुभयो, “तत्पश्चात राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिनुहुन्छ ।”

संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तूपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति रहेको छ । नमोबुद्धमा सधँैजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामाले बताउनुभयो । उहाँका अनुसार मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडाँै, धादिङ, नुवाकोटलगायतबाट सहभागिता भएको छ ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमोबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ ।

उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता वन्यजन्तु पाइन्थ्यो । साथै, मयुर, हाँस, वनकुखुरालगायत पन्छी उक्त जङ्गलमा पाइने गरेकोमा हाल पाइन छाडेको लामा बताउनुहुन्छ ।

काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !