
गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा १७ औं कफी दिवस मनाइएको छ । गण्डकी गाउँपालिकाको कृषि शाखाको आयोजनामा “कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायीक कफी उत्पादनमा युवाको योगदान ” भन्ने नाराको साथ आज एक कार्यक्रम गरि गाउँपालिकाको कार्यलय वरिपरि कफीको बिरुवा रोपेर दिवस मनाएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर रानाले गाउँपालिका भित्र कफी खेती विस्तार गर्नको लागि आवश्यक पर्ने सम्पुर्ण कुरामा सहयोग गर्ने बताए । उनले भने ” गण्डकी गाउँपालिकाले कफी खेती विस्तार गर्ने योजना बनाएर र आगामी दिनमा गण्डकी कफी भनेर राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा पुर्याउने योजना रहेको छ । ”
त्यस्तै गण्डकी गाउँपालिकाका प्रमुख अधिकृत जित बहादुर भण्डारीले कफी किसानलाई के कुराको आवश्यक पर्छ त्यो कुरा सहयोग गर्न गाउँपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
सो कार्यक्रममा बोल्दै सृजनशिल कफी उत्पादन सहकारीका सचीव रामप्रसाद पन्तले कफी किसनलाई सहयोग गर्न सहकारी सधैं तयार रहेको बताए ।
कफी बजारमा प्रती किलो रु १५० देखि ५०० सम्म विक्री हुने कफी किसान मिरा गुरुङले जानकारी दिए ।
कफीको महत्त्व, उत्पादन, प्रशोधन, बजारीकरण, वर्तमान अवस्था र सम्भावनाको बारेमा पनि कार्यक्रममा जानकारी दिएको कृषि अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर राना, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारी, वडा अध्यक्षहरु, कफी किसानको उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालिकाका कृषि अधिकृत कृष्ण भट्टराईले संचालन गरेका थिए ।