चितवन । नेकपा एमालेका केन्द्रीय प्रचार संयोजक तथा दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने दशौं महाधिवेशनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निमन्त्रणा नगर्ने बताएका छन् ।

नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार समितिले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । उनले भने, ‘ माधवकुमार नेपाल महाधिवेशनमा आउने भए एमालेमा नै रहन्थे । पार्टी फुटाएर गएपछि उनी महाधिवेशनमा आउँदैनन् । एमालेले उनलाई निमन्त्रणा गर्दैन । एमालेले एकीकृत समाजवादीलाई आधिकारिकता पनि दिएको छैन ।’ संयोजक भट्टराईले दजनौं देशका राजनीतिक दलका प्रतिनिधिहरुलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए । उनले भने, ‘एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधिहरुले आउने कन्फर्म गरिसकेका छन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरुलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।’

प्रचार समिति संयोजक भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न संगठनहरुमा महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत भइसकेकोले यसपटकको चितवन महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गरे । नेता भीम रावल पार्टीको अध्यक्षमा उठ्ने के सम्भावना रहेको छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले म भीम रावलको प्रवक्ता होइन भन्ने बताए । उनले भने, ‘ लोकतान्त्रिक प्रणाली अनुरुप सबै नेताहरुले उम्मेदवारी दिने अधिकार भने रहन्छ । अहिले नै को पार्टीको अध्यक्ष हुने भन्ने एमालेले निर्णय गरेको छैन ।’ उनले आफू के मा उठ्ने भन्ने समय आएपछि बताउने दाबी पनि गरे ।

नेकपा एमालेले आगामी मंसिर ७ गते देशका सबै जिल्लाका प्रमुख शहरहरुमा १० औं महाधिवेशनलाई लक्षित गरेर मोटरसाइकल ¥याली गर्ने भएको छ ।

प्रचार समितिका संयोजक योगेश भट्टराईले चितवन महाधिवेशनको प्रचारप्रसारको लागि देशव्यापीरुपमा सबै जिल्ला सदरमुकामहरुमा मोटरसाइकल ¥याली अभियान आयोजना गरिएको जानकारी दिए । उनले मोटरसाइकल ¥याली विशेष त काठमाडौँ–चितवन, बुटवल–चितवन र बीरगञ्ज चितवन लक्षित एवम् केन्द्रीत गरी मोटरसाइकल ¥याली सञ्चालन गरिने बताए । यसको संयोजनको लागि एमालेले राष्ट्रिय युवा संघ नेपाल, खेलकुद महासंघ र अनेरास्ववियुले देशभरी यस कार्यक्रमको संयोजन गर्ने उनले बताए ।

एमालेले दशौं महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोष्टर नटाँसेर पूरै डिजिटल मिडियाको प्रयोग गर्ने भएको छ । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अंग्रेजी भाषामा प्रचार ब्यानर र भिडियो क्लिपहरु निर्माण गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० वटा भिडियो तथा अडियो क्लिप र वृत्तचित्रहरु बनाएर प्रचार गर्ने तयारी गरेको जानकारी दिइयो । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारको लागि सामाजिक माध्यमहरु फेसबुक, टिकटक र युट्युबहरुलाई पनि प्रयोगमा ल्याउने जनाएको छ ।

पत्रकार सम्मेलनमा एमालेले देशभरका पार्टी संगठन र जनसंगठन केन्द्रित कार्ययोजनाबारे देशभरका ७५३ वटा पालिकाहरुकै तहसम्म अन्तरक्रिया र छलफल कार्यक्रम आयोजना गर्ने जनाएको छ । यसैगरी चितवन प्रवेशको मुख्य नाकाहरु र राजमार्ग क्षेत्रमा नवनिर्वाचित पालिका र वडा कमिटीहरुले महाधिवेशनको प्रचारप्रसारको उद्देश्यअनुरुपका भव्य र आकर्षक स्वागतद्वारहरु निर्माण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

प्रतिक्रिया दिनुहोस !