गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ ।

जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि पहिचानविहीन यहाँको नौथर समुदायभित्रका कायत समुदाय पहिचानविहीन बनेका र हालसम्म राज्यले कुनै सुनुवाइ नगरेका कारण जनगणनामा समावेश नहुने निर्णयमा पुगेको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिनुभयो ।

बागलुङको ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरू उपेक्षामा परेको बताउँदै विरोधस्वरुप जनगणनामा समावेश नहुने कायत समुदायले निर्णय गरेका छन् । “हामीलाई राज्यले बेवास्ता ग¥यो, पटक–पटक नगरपालिका र जिल्ला प्रशासनमा पहिचानका विषयमा मुद्दा उठाए पनि सुनुवाइ नभएका कारण राज्यले हामीलाई बेवास्ता गरेका कारण राज्यको तथ्याङ्कमा समावेश नहुने कायत समुदायले निर्णय गरेका छौँ”, नीमबहादुर कायतले भन्नुभयो, “जातको पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हुँदै आएको छ, तर राज्यले १०० भन्दा बढी जातजातिलाई जातीय पहिचान दिए पनि हामी थोरै भएकालाई पहिचान दिएको छैन ।”

नेपालभर कात्तिक २५ गते देखि राष्ट्रिय जनगणना २०७८ जारी छ । तीन वर्षअघि कायत समुदायको पहिचानको विषयमा सङ्घीय संसद्मा समेत कुरा उठे पनि छलफल हुन सकेको थिएन । राज्यले पहिचानविहीन बनाएका कारण कायत समुदायले जनगणनामा समावेश नहुने जनाएको छ ।

जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रवृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचानविहीन बन्दा रोजगारीसमेत पाउन मुस्किल भएको स्थानीयवासी विश्वास कायतले जानकारी दिनुभयो । उहाँले जनगणनामा मात्रै हैन, आगामी दिनमा कायत समुदायले मतदानसमेत नगर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

ढोरपाटनमा कायत समुदायका ८० घर छन् । उनीहरुले कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा राज्यले सूचीकृत गर्नुपर्ने बताउँदै आएका छन् । कतिपयले सेवासुविधा र रोजगारीका लागि कायत समुदाय जनजाति त कतिले क्षेत्री भएको उल्लेख गर्दै आएका छन् ।

तीन वर्षअघि सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचीकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको भए पनि कायत समुदायले पहिचान पाउन सकिरहेका छैनन् ।

नौथर समुदायभित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिन नसके कायत जस्ता नौथरभित्रका समुदायसमेत लोप हुने अवस्थामा छन् । कायतलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राम शर्माको भनाइ छ ।

जनगणनामा समावेश भएपछि मात्रै अधिकार पाइने भएकाले बहिष्कार गरेर समस्याको समाधान नहुने जिल्ला तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो ।

मनोरोगीको स्वास्थ्य सेवामा तल्लीन २० वर्षीया नर्स

बागलुङ नगरपालिका–६ का स्वास्थ्यकर्मी पुजन आचार्यले आंशिक रुपमा मानवसेवा आश्रममा डेढवर्ष अघिदेखि जागिर थाल्नुभयो । आश्रममा रहेका मनोरोगी तथा दीर्घरोगीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखामा आचार्यले जागिर गर्नुभयो । उहाँले सुरुका दुई महिना रु १० हजारका दरले तलबसमेत बुझ्नुभयो ।

दुई महिना काम गर्दा आश्रमको विषयमा बुझ्ने मौका पाएपछि आफूमा मानवीय सेवा भाव पैदा भएकाले तलब बुझ्न छोडेको नर्स आचार्य बताउनुहुन्छ । “आश्रममा जोडिए, यहाँको मानवसेवा प्रतिको नागरिकको भावनाका विषयमा जानकारी पाएँ, त्यसैले निःशुल्क स्वास्थ्यसेवा दिन थालेकी हुँ”, आचार्यले भन्नुभयो, “डेढवर्ष जति भयो यहाँ स्वास्थ्यसेवा दिन थालेको, अब बागलुङ बसुञ्जेल आश्रममा यसरी नै स्वास्थ्यसेवा दिन्छु ।” उहाँले छ महिनादेखि करारमा धौलागिरि अस्पतालमा जागिर गर्नुभएको छ ।

ड्युटी बाहेकको समयमा बिहानबेलुका आश्रममा आएर सेवा दिएको आचार्यको भनाइ छ । आचार्यले दिउँसो अथवा राति अस्पतालमा जागिर खाए पनि बिहानबेलुका मनोरोगी तथा दीर्घरोगीलाई औषधि खुवाउन आश्रममा आइरहनुभएको छ ।

आचार्यका अनुसार आश्रममा आश्रित ४९ सडक मानव, अभिभावकविहीन तथा सहयोगापेक्षीमध्ये ३२ जनालाई मानसिक औषधि खुवाउनुपर्ने अवस्था छ । बिहानको समयमा २२ लाई र बेलुकाको समय ३२ जनालाई मानसिक रोगसम्बन्धी औषधि खुवाउने गरेको आश्रमले जनाएको छ । आश्रममा दुईलाई सुगर र दुई जनालाई प्रेसरको औषधि प्रयोग गर्नुपर्ने अवस्था छ । आचार्यले धौलागिरि अस्पतालका विशेषज्ञ डाक्टरसँगको सल्लाहमा मनोरोगीको उपचार गर्दै आउनुभएको छ ।

आश्रममा १० महिनादेखि बस्दै आउनुभएकी मीनामाया कार्कीले आश्रममै स्वास्थ्य उपचार र निःशुल्क औषधि पाउदा धेरै सहज भएको बताउनुभयो । परिवारमा कोही नभएपछि मानसिक रोगी हुनुभएका कार्की अहिले पूर्ण स्वास्थ्यलाभको अवस्थामा फर्किन थालेको बताउनुहुन्छ । अहिले दिनको एक पटक मात्र मानसिक रोगको औषधि खाँदै आउनुभएको छ ।

आश्रममा रहेका अधिकांश आश्रितमा मानसिक असन्तुलनको समस्या रहेको मानवसेवा आश्रम बागलुङ शाखाका संयोजक सुमिरा लामाले जानकारी दिनुभयो । लामाका अनुसार मानसिक रोगी भएपछि सडकमा बस्ने, परिवारको हेला होचोका कारण सडक मानवका रुपमा बस्दै आएकालाई उद्दार गरी आश्रममा ल्याएर उपचार, खानपिन, हेरचाह तथा पुर्नर्मिलन गराइँदै आएको छ ।

आश्रमले बागलुङ–४ निरयघाटमा रु सात करोडको लागतमा समेत आश्रमको आफ्नै शाखा निर्माण भइरहेको छ । आश्रम निर्माणका लागि सहयोगसमेत जुटिरहेको छ । आश्रम २०७४ सालदेखि जिल्लामा सक्रिय छ । मुठ्ठीदानबाट आश्रम सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस !