काठमाडौँ ।  वीर अस्पतालमा आफन्तलाई भर्ना गरेकाले रणबहादुर तामाङ आज बिहान खाना लिएर बिहान ११ बजे चुच्चेपाटीस्थित घरबाट निस्कनुभयो । राजधानीमा सार्वजनिक यातायातमै यात्रा गर्दै आउनुभएका उहाँले करिब एक घण्टा कुर्दा पनि रत्नपार्क क्षेत्रमा आउने सवारी पाउन सक्नुभएन ।

सोमबारसम्म कसैको बन्द भन्ने नसुन्नुभएका रणबहादुरजस्ता धेरै मानिस आज सडकमा निस्केपछि सवारी नपाएर अलमल परे । घण्टौँ सवारी कुर्दा पनि गन्तव्यमा पुग्न सकेनन् । कसले र किन बन्द गरेको भन्ने थाहा नपाइ अत्यावश्यक काम निस्किएका धेरै मानिस निरन्तर भइरहने यस्ता बन्दले दुःख पाउँदै आएका छन् ।

बन्द गर्दैमा माग पूरा नहुने भए पनि लामो समयदेखि नेपालमा विरोधका लागि सार्वजनिक यातायात बन्द नै मुख्य अस्त्र बन्दै आएको छ । जसका कारण समस्यामा सामान्य मानिस पर्ने गरेका छन् । निजी सवारी चलेपनि सार्वजनिक यातायात फाट्टफुट्टमात्र चलेको छ । थोरै चलेका सार्वजनिक यातायात पनि गन्तव्यसम्म चलेका छैनन् । चुच्चेपाटीबाट वीर अस्पताल आइपुग्न रणबहादुरले तीन वटा सवारी चढ्नु परेको बताउनुभयो । एउटाले मित्रपार्क, अर्कोले पुरानो बानेश्वर र तेस्रो सवारीबाट मात्र आफू गन्तव्यसम्म पुग्न सफल भएको उहाँले सुनाउनुभयो ।

जोखिम कम भए पनि कोरोना महामारी कायमै रहेकाले काम नपरी नहिँड्ने धेरै मानिसले आज काममा निस्कनुपर्दा सवारीकै कारण समस्या भोगेका छन् । विरोधका लागि बन्दको विकल्पका रुपमा अन्य रचनात्मक कार्यक्रम अघि सार्न सुझाव दिनुहुन्छ नयाँ बानेश्वरका ज्ञानेन्द्र श्रेष्ठ । रचनात्मक रुपमा नयाँ शैलीबाट विरोध गर्दा सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गर्न सकिने उहाँको भनाइ छ ।

एक दिनको विरोधले निम्न आय भएका र काम गरेरै बिहान बेलुकाको हातमुख जोड्नुपर्नेका लागि समस्या हुने गरेको छ । यस्तै वर्गलाई समस्यामा पार्ने गरी बन्द कार्यक्रम राख्नुको उद्देश्य प्रष्ट नहुने गरेको कीर्तिपुरकी रमिला महर्जन बताउनुहुन्छ । उच्च वर्गकालाई महिनांै बन्द गरिदिए पनि कुनै समस्या नभए पनि काम गरेर जीविकोपार्जन गर्नेका लागि भने सास्ती हुने गरेको छ । बन्द भएपछि ज्याला गरेर खानेले काम गर्ने अवसरसमेत पाउँदैनन् ।

बन्द कर्ताले सामान्य मानिसका यस्ता समस्यामा ध्यान दिनुपर्ने उहाँहरुको माग छ । सबैले गरिखान पाउने गरी विरोधका कार्यक्रम गर्ने गरी रचनात्मक सोच अघि सार्न निम्न आय भएका वर्गको माग छ ।

प्रतिक्रिया दिनुहोस !