
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कार्यकर्तालाई सम्बोधन गर्न धनकुटा जानुहुने भएको छ । उहाँको सचिवालयका अनुसार आज विहान ११ बजे ओली धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङ स्मृती दिवसमा सहभागि हुनुका साथै सयौ माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । पार्टी प्रवेश साथै सम्बोधनका लागि अध्यक्ष ओली हेलिकप्टरबाट धनकुटा जाने कार्यक्रम रहेको छ । एमाले नेता दुर्गा प्रसाईले धनकुटामा माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गराउने तयारी भएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहनेछ। यस्तै सभामा कलाकार बद्री पंगेनी, प्रिया भण्डारीलगायतका प्रस्तुति रहनेछ। खोकु छिन्ताङ र आँखिसल्लामा २०३६ साल कात्तिक अन्तिम साता तत्कालीन पञ्चायत सरकारले १६ जना कम्युनिस्ट कार्यकर्ताको निर्मम हत्या गरेको थियो। कम्युनिस्ट पार्टीमा आस्था राखेको आरोपमा तीन दिनकी सुत्केरीसहित १६ जनाको हत्या गरिएको थियो। १६ जना मध्ये कसैलाई भीरबाट लडाएर, कसैलाई गोली हानेर, कसैलाई अरुण नदीमा बगाएर हत्या गरिएको थियो।