काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ हङकङ गठन भएको छ । युवाहरुको क्षमता, सीप र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकाश बन्जराको नेतृत्वमा हङकङ शाखा गठन भएको हो ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङका सदस्य समेत रहेका बन्जराको नेतृत्वमा अन्य पाँचजना युवा व्यवसायीहरु आबद्ध रहेका छन् । बन्जारा हङकङलाई आधा।र बनाएर नेपालमा आफ्नै कम्पनीमा उत्पादित हस्तकलाका सामग्रीको विश्वका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका छन् ।

महासंघको उपाध्यक्षद्धयमा डोर्न कुमार दाहाल र विश्वनाथ घिसिङ रहेका छन् । महासचिवमा इन्द्र पुर्जा पुन, कोषाध्यक्षमा रजनिस बहादुर भट्टराई र बोर्ड सदस्यमा निर्मल अर्याल रहेका छन् । दाहाल कन्स्ट्रक्सन कम्पनी तथा अन्य व्यवसायमा संलग्न छन् भने घिसिङ इन्भेष्टमेन्ट कम्पनी सञ्चालन गरिरहेका व्यवसायी हुन् । यस्तै इन्द्र पुन ट्राभल एजेन्सी तथा अन्य व्यवसायमा संलग्न छन भने राजनीश भट्टराई रेष्टुरेन्ट र निर्मल अर्यालले आइटी कम्पनी सञ्चालक हुन् । एनआरएनए हंगकंगका अध्यक्ष गोकर्ण ढकाल संरक्षक रहने गरि अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ हङकङ गठन भएको हो ।

अष्ट्रेलिया निवासी स्वतन्त्र प्रताप शाहको अगुवाईमा सो महासंघ स्थापना भएको हो । महासंघले विशेषगरी विश्वभर छरिएर रहेका नेपाली युवा व्यवसायीबीच व्यवसायिक साझेदारी र सहयोग प्रदान गर्ने छ । विदेशमा व्यवसाय गर्ने युवा र नेपालमा व्यवसाय गर्ने युवाबीच पुलको काम गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताइएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान), होटल एसोसिएशन (हान) लगायतको व्यवसायीक संघ संस्थासँग व्यवसायीक साझेदारी गर्ने अध्यक्ष बन्जराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !