गण्डकी ।  दक्ष कामदारको अभाव, पर्याप्त विद्युत्को उपलब्धता तथा कच्चापदार्थको कमीका कारण गण्डकी प्रदेशका उद्योगधन्दा पूर्णरुपमा सञ्चालनमा आउन नसकेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको सो अध्ययनमा अधिकांश उद्योगको उत्पादन क्षमताको आधा पनि गर्न नसकिएको पाइएको छ । पूर्ण क्षमतामा उद्योग सञ्चालन नहुँदा स्वदेशी उत्पादनका लागि उचित बजारलगायत अन्य भौतिक पूर्वाधार समेत उपलब्ध हुन सकेको छैन ।
केन्द्रीय बैंकले औद्योगिक क्षेत्रका समस्या, चुनौती तथा सम्भावनासमेत औँल्याएको छ । उद्योग क्षेत्रमा दक्ष श्रमशक्तिको अभावका कारण लक्ष्यअनुसार प्रगति हुन नसकेको देखिन्छ । अर्ध–दक्ष तथा दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएकाले स्वदेशी उद्योगले प्रायःदक्ष श्रमशक्तिको अभाव खेपिरहेको यस अध्ययनमा पाइएको छ ।

राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईका अनुसार उत्पादित वस्तुको लागत बढी पर्न गएको र गुणस्तरमा समेत कमजोर भएकाले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको अध्ययनले देखाएको छ ।

स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने चुनौती छ । उद्योग स्थापना र नवीकरण गर्दा, तथा दस्तुर आदि बुझाउँदा प्रक्रियागत जटिलता छन् भने समय तथा लागत कम गर्न एकल बिन्दु सेवाको कार्यान्वयन एवं सूचना प्रविधिको उपयोगलाई अधिकतम प्रवद्र्धन गर्नुपर्ने चुनौती पनि उत्तिकै छन् ।

केही वर्षयता जग्गाको उच्च मूल्यवृद्धिका कारण नयाँ स्थापना हुने क्रममा रहेका उद्योगहरुले उपयुक्त स्थानमा जग्गा पाउन सकेका छैनन् । उद्योग स्थापनाको लागतसमेत वृद्धि हुँदा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी आकर्षित हुन सकेको छैन । पर्याप्त ऊर्जा आपूर्ति एवं भरपर्दो सडक यातायात नहुँदा सोचेजति प्रगति हुन सकेको छैन ।

केन्द्रीय बैंकले पुँजीको अभाव तथा अत्यावश्यक कच्चा पदार्थको अभाव सम्बोधन गर्नुपर्ने चुनौती रहेको पनि सो अध्ययनमा देखिन्छ । यसका अतिरिक्त अध्ययनले चुनौती समाधानका लागि केही सम्भावनासमेत देखाएको छ । प्रदेशको दिगो अर्थतन्त्र निर्माण र समृद्धिका लागि औद्योगिकीकरण अपरिहार्य भएकाले समुदायले दैनिकरुपमा खपत गर्ने र पर्यटन क्षेत्रमा खपत हुने मुख्य वस्तु उत्पादन गर्ने कृषि प्रशोधन उद्योग सञ्चालन गर्दा पर्यटन व्यवसाय र स्थानीय उत्पादकसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

आधारभूत औद्योगिक उत्पादनमा आत्मनिर्भर बन्दै कृषि क्षेत्र तथा स्थानीय स्रोत, साधन तथा सीपमा आधारित औद्योगिक उत्पादनमा जोड दिई औद्योगिक उपजको निर्यात तथा आयात प्रतिस्थापन गर्नसक्ने सम्भावनालाई अध्ययनले उजागर गरेको छ ।

सहुलियतपूर्ण ऊर्जा आपूर्तिमार्फत् उद्योगको लागत कम गरी प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न सकिन्छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारणका सञ्जाल निर्माणलाई तीव्र पारेको पनि छ । वन क्षेत्रको जग्गा प्रयोग, ठेकेदारको लापरवाही तथा स्थानीय एवं प्राविधिक समस्याका कारण तोकिएका समयमा काम नभए पनि विद्युत् क्षेत्रको विकास र प्रवद्र्धनमा योजना केन्द्रित भएको देखिन्छ ।

गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा जलस्रोतमा धनी भएकाले विद्युत् उत्पादनको पनि पर्याप्त सम्भावना छ । प्रदेशको विद्युत् उत्पादन गर्ने सम्भावित क्षमता २० हजार ६५० मेगावाट रहेकामा आर्थिकरुपले १२ हजार ९३० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । यसका लागि सरकारी तथा निजी लगानी विस्तार हुँदै गएको छ ।

कूल २२० केभी क्षमताको दाना कुश्मा प्रसारण लाइन र सवस्टेशन निर्माण सम्पन्न भइसकेको छ । दोर्दी तथा मस्र्याङ्दी करिडोरमा दर्जनौँ आयोजना निर्माणका क्रममा छन् । यसबाट पनि आगामी दिनमा यस प्रदेश आर्थिक विकास र समृद्धिमा अन्य प्रदेशभन्दा माथि उक्लिन सक्छ ।

स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने तथा सरकारी एवं गैर सरकारी निकायमा हुने आवश्यक सामग्रीको प्रयोगमा स्वदेशमै उत्पादित सामग्रीलाई बढावा दिनसके स्वदेशी उत्पादनको प्रयोग बढ्ने केन्द्रीय बैंकले ठहर गरेको छ । चालू आवकोे बजेटमार्फत यस प्रदेशअन्तर्गत रहेको गोरखकाली टायर कारखानालाई निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आह्वान गर्ने नीति लिइएको छ ।

उद्योगको जग्गा र भौतिक संरचनालाई सरकारकातर्फबाट हुने लगानीमा गणना गरी निजी क्षेत्रलाई थप लगानीसहित सञ्चालन गर्न प्रोत्साहित गर्न लागिएको छ । प्रदेशमा मुख्य गरी कृषि तथा पशुजन्य उत्पादनमा आधारित उद्योग एवं श्रममा आधारित उद्योग, स्याउ, सुन्तला र कफी भण्डारण, प्रशोधन तथा निकासी गर्ने उद्योग, परम्परागत हस्तकला÷मूर्तिकला तथा क्युरियोका सामान उत्पादन गर्ने उद्योग, वनजन्य कच्चा पदार्थ प्रयोग गरी प्रशोधनमा आधारित उद्योगको प्रशस्त सम्भावना रहेको छ ।

यस्तै ढुङ्गा, गिटी, बालुवालगायतका खनिज तथा उत्खनन्सम्बन्धी उद्योग, फलाम खानी उत्खनन् तथा प्रशोधन उद्योगको प्रशस्त सम्भावना रहेको सो प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा समावेश गरिएको पनि यस प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश नीति तथा योजना आयोगका अनुसार प्रदेशभित्र विभिन्न जिल्लामा युरेनियम, टुर्मालिन, चुनढुङ्गा, फलाम, टाल्क, रातोमाटोलगायतका खनिजजन्य वस्तुको सम्भावना रहेको उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकको अध्ययनअनुसार कास्कीमा सबैभन्दा बढी औद्योगिक कर्जा परिचालन भएको देखिन्छ । सो जिल्लामा ५९.०१ प्रतिशत बराबरको कर्जा लगानी हुँदा मनाङमा ०.०३ प्रतिशत मात्रै भएको छ । तनहुँमा ११.३४, नवलपरासी पूर्वमा ८.१९, लम्जुङमा ३.२८, गोरखामा ३.३८, मुस्ताङमा ०.१८, म्याग्दीमा १.९२, स्याङ्जामा ६.०८, पर्वतमा २.०६ र बाग्लुङमा ४.५३ प्रतिशत औद्योगिक कर्जाको परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस !