काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२१ को उपाधिका लागि आज राति अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। खेलपछि टी-२० विश्वकपले नयाँ विजेता पाउनेछ।

अस्ट्रेलियाले सन् २०१० को फाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदा च्याम्पियन हुने अवसर गुमाएको थियो।

एकदिवसीय विश्वकप पाँच पटक जितेको अस्ट्रेलियाका लागि पहिलो टी-२० विश्वकप जितेर इतिहास बनाउने अवसर छ।

यता न्युजिल्यान्ड भने पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो। एकदिवसीय विश्वकपको पछिल्ला दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको न्युजिल्यान्डका लागि टी-२० विश्वकपमा पनि अवसर आएको छ।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले उपाधि लक्ष्यमा अब एक कदम पछि रहेको प्रतिक्रिया दिएका छन्।

सन् २०१९ को विश्वकप उपविजेता र विश्व टेस्ट च्याम्पियनसिपको विजेता न्युजिल्यान्ड पहिलो पटक विश्वकप जितेर इतिहास बनाउन तयार गरेको कप्तान केन विलियमसनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !