चितवन । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारी ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउनुहुन्छ । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।”

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उहाँले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका बताउनुहुन्छ । कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा प्रकाश अर्याल सहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसङ्ख्याका अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जो गाउँमा बस्नुहुन्छ, उहाँहरूले पनि खानपानमा ध्यान दिनुप¥यो, नियमित परीक्षण गर्नुप¥यो ।”

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उहाँले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने उहाँको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उहाँको भनाइ छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ । अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा अर्यालको सुझाव छ । डा अर्याल, “सहरकाले मात्रै होइन, ग्रामीण क्षेत्रमा बस्नेले पनि नियमित परीक्षण गर्नुप¥यो ।”

चितवन मेडिकल कलेजका इण्डोक्राइनोलोजिष्ट डा सौरव खतिवडाले शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “यो अवस्थालाई मधुमेह भनिन्छ । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ ।” मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी)लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उहाँ औल्याउनुहुन्छ ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उहाँ भन्नुहुन्छ, “मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।”

दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिँदै उहाँले भन्नुहुन्छ, “वंशाणुगतरूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच÷दश वर्ष पछाडि धकेलिन्छ । शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान पर्छ । हाम्रो खानामा भात, ढिलो बढी खान्छौँ । यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकाले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ ।” आफ्नो तौल, उमेर र उचाइअनुसार डाइटीसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उहाँको सुझाव छ । सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने जनाइएको छ । उहाँले एकैपटक धेरै नखान र पटक–पटक थोरै–थोरै गरेर खान सुझाव दिनुहुन्छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारी मधुमेह आफैँमा रोग नभएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रहमात्रै हो ।” मधुमेहका कारण आँखा, मुटु, मिर्गाैला, खुट्टा, रगतका नलीमा हान्यो भने बल्ल त्यो रोग हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मधुमेहलाई राम्रोसँग नियन्त्रण ग¥यौँ भने स्वस्थ जीवन जीउन सकिन्छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ । मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय डा अधिकारीले अर्काे ४५ करोड मधुमेह हुनसक्ने, पत्ता नलागेका र अर्काे वर्ष वा जीवनशैली नबदलेमा हुनसक्ने मानिसको सङ्ख्या रहेको बताउनुहुन्छ । विश्वका सात अर्ब जनसङ्ख्यामा करिब ९० करोड मधुमेह भएका वा हुनसक्ने मानिस रहेको जनाइएको छ ।

नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा अधिकारीको भनाइ छ । नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको जनाउँदै उहाँले भन्नुहुन्छ, “अर्काे ८.४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ ।” नेपालका सहरी क्षेत्रमा गरिएका अध्ययनले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उहाँले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताउनुहुन्छ ।

स्वस्थ जीवनशैली अपनाउन र मधुमेही छु कि छैन भनेर वर्षमा एकपटक मधुमेह परीक्षण गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “वर्षमा एकपटक परीक्षण गरियो भने करिब–करिब फेरि मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ ।”

प्रतिक्रिया दिनुहोस !