बलेवा ।  बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यवसायिक उत्पादनमा जोडेको हो ।
मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रुपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले जनाएको छ ।

घाँसे मैदान र वनजङ्गल धेरै रहेको धुल्लुबास्कोटमा भैँसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैँसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । वडा नं २ हुग्दीशीरमा अलैँची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैँची खेती गर्दै आएका छन् ।

“बाँझो जमिन र खेतीयोग्य जमिनमा समेत अलैँचीको व्यावसायिक उत्पादन थालेका छौँ”, नमूना अलँैची फार्मका अध्यक्ष विमल शर्माले भन्नुभयो, “घरबाटै अलैँचीको बिक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।” यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैँची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

“वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ”, उहाँले भन्नुभयो, “ सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौँ ।” बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ । खेतीयोग्य जमिन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्मा जानकारीदिनुभयो । बाख्रा पालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ ।

आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो । यहाँका किसानले परम्परागत रुपमा नै उत्पादन गर्दै आएको आलु पछिल्लो समय बाहिरी बजारमा जाने गरेको छ । “सुखौरा आलुका लागि चर्चित ठाउँ नै हो, पहिले पहिले अन्नसँग साट्नेबाहेक घरायसी प्रयोजनका लागि मात्रै उत्पादन हुने आलु अहिले व्यावसायिक बनेको छ”, स्थानीयवासी दुर्गाप्रसाद शर्माले भन्नुभयोे, “किसानले फलाएको आलुको बजारीकरण र मूल्य निर्धारणमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस !