काठमाडौं । नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ । सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १ सय रुपैयाँ जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिब ७ लाख ३० हजार पार्टी सदस्य छन् । ‘उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ,’ उहाँले भन्नुभयो, ‘त्यसले पार्टीको महाधिवेशनको खर्च पु¥याउन सकिन्छ ।

बैठकले पार्टीको महाधिवेशन सम्बन्धी सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ । जस अनुसार मंसिर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

उद्घाटनको अवसरमा देशभरका पार्टीको शुभचिन्तक र समर्थकहरु सहभागी हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख भट्टराईले उद्घाटन समारोहमा कम्तिमा ५ लाख जनसहभागिता हुने र त्यसका लागि चितवन र त्यस आसपासका जिल्लाहरुबाट जनपरिचालन गर्ने निर्णय पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीले गरेको बताउनुभयो ।

बैठकले कार्तिक ३० गतेभित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेले यही कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनाेट गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । महाधिवेशनमा देशभरका १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरूका लागि त्यही आसपासका लज, गेष्ट हाउसहरूमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिष्टम प्रयोग गर्नेछ ।

बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । इलेक्ट्रोनिक सञ्चार माध्यामहरूको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । बैठकले महाधिवेशनका लागि दक्षिणी एशियाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !