चितवन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अहिले रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस रत्ननगर वडा नं १३ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ तर पार्टीमा अहिले रुपान्तरण आवश्यक रहेको वताउनु भएको हो । कांग्रेसको सिद्धान्तले मात्र देशको मूल पार्टी नबन्ने भन्दै उनले जनजीविका र विकासको एजेन्डालाई प्राथमिकतामा राखेर पार्टीलाई रुपान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

अघिल्ला तीन तहको निर्वाचनमा ३० प्रतिशतको हैसियतमा कांग्रेस खुम्चिनुपरेको भन्दै वरिष्ठ नेता पौडेलले आन्तरिक एकता हुन सके कांग्रेसले आगामी चुनाव जित्छ, ‘कांग्रेस कमजोर पार्टी होइन, बनाइएको हो’ उहाँले भन्नुभयो, ‘नेता-नेता र कार्यकर्ता- कार्यकर्ता बीचमा एकता हुने हो भने अब कांग्रेस देशको मूल पार्टी बन्नेछ ।’ नेता पौडेलले सभापति देउवा महाधिवेशन नगर्ने मोडमा रहेको बताउनु भयो । ‘देउवाले महाधिवेशन चाहेका छैनन’, उहाँले भन्नुभयो, ‘यसले कांग्रेसलाई झन कमजोर बनाउने छ ।’ १४औँ महाधिवेशन कांग्रेसको भविश्य निर्धारण गर्ने अन्तिम परीक्षा रहेको भन्दै पार्टीलाई बलियो बनाउन सक्ने र योगदान गरेको मान्छेलाई मौका दिनुपर्ने पौडेलले बताउनुभयो ।

नेता पौडेलले पार्टीको सिद्धान्त अनुसार नेताको आचरण र व्यवहार नभएका कारण कांग्रेस पछाडि परेको उल्लेख गर्नुभयो । ‘अदालतमा कुटाकुट हुन्छ’, ‘हाम्रो न्यायालय कता जादै छ । सबैको भरोसाको केन्द्र अदालत रहेको भन्दै उहाले न्यायलयको अहिलेको अबस्था हेर्दा मुलुक ध्वस्त हुने हो कि भन्ने भय बढेको छ ।’ पौडेलले भन्नुभयो ।  कार्यक्रममा केन्द्रीय सदस्य बद्रि पाण्डेले अबको एकमात्र विकल्प कांग्रेस पार्टी रहेको बताउनु भयो ।

वडा सभापति टोमराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाभित्रका एकदर्जन कांग्रेसका पुराना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री शेषनाथ अधिकारी, जिल्ला सभापति जितनारायण श्रेष्ठ, नगर सभापति प्रल्हाद सापकोटा, क्षेत्रीय सभापति राजु सिलवाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !