गलेश्वर । भनिन्छ, जुन देश र परिवेशको मानिस हुन्छ,उसलाई सोही ठाउँको औषधि नै हितकारी हुन्छ । आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् चिकित्सा शास्त्रका प्रणेत धन्वन्तरि जयन्ती ।

आर्युवेदिक औषधिका पिता मानिने, देवताका बैद्य (चिकित्सक) समेत रहेका धन्वन्तरिले जङ्गलमा पाइने वनस्पति र जडीबुटीमार्फत उपचार गर्न सुरुआत गरेको दिन । तर, औषधीय गुणले युक्त बहुमूल्य वनस्पति र जडीबुटीको भने सदुपयोग हुन नसक्दा नेपालमा त्यस्ता बहुमूल्य जडीबुटीले भिल्लाका देशमा मणिको नियति भोगिरहेका छन् ।

हिमाली जिल्ला म्याग्दीका उच्च हिमाली र लेकाली क्षेत्रका जङ्गल तथा भिरमा रहेका बहुमूल्य जडीबुटी प्हिचान, उत्खनन र प्रशोधनको अभावमा जङ्गलमा नै खेर गइरहेका छन् । यहाँका जङ्गल र भिरमा पाइने सिलाजित, अष्टगन्धा, तुथो, खिरलहरा, पखनबेदलगायतका जडीबुटी खेरगइरहेका स्थानीयवासीले बताएका छन् ।

ठूलाठूला चट्टानमा गर्मी महिनामा चुहिने सिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुनसकेको छैन ।
जिल्लाका धेरैजसो ठाउँमा सिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय म्याग्दीका प्रमुख प्रेमप्रसाद गौतमले बताउनुभयो ।

कोरोनाका कारण आर्युवेदिक औषधिको खोजी हुन थालेपछि गुर्जो, अस्वगन्धा, दालचिनीलगायका जडीबुटीप्रति सर्वसाधारणको चासो बढे पनि अन्य बहुमूल्य जडीबुटी तर्फ कसैको ध्यान नगएको उहाँले बताउनुभयो । गाउँघरमा परम्परागत रूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयवासीले निकालेर सिलाजित बनाउने गरेको तर व्यावसायिक रूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको धवलागिरि गाउँपालिका– ३ मुनाका ४० वर्षीय पुर्म पुनले बताउनुभयो ।

जडीबुटीका जानकार समेत रहनुभएका पुनका अनुसार पश्चिम म्याग्दीका जङ्गलमा करोडौंँ मूल्यका जडीबुटी पाइने भए पनि उत्खनन् र प्रशोधन गर्ने सीपको अभाव र राज्यको उदासिनताका कारण ती जडीबुटी जङ्गलमा नै अलपत्र अवस्थामा रहेका छन् । म्याग्दीका भिर र पहरामा प्रशस्तै सिलाजित पाइने उहाँले बताउनुभयो । हरेक बिरामीका लागि उपयोगी मानिने सिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिने, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यो रामबाण सावित हुने पुनले बताउनुभयो ।

बजारमा सिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुङ्गा पग्लेर सिलाजित निस्कने गरेको आयुर्वेद औषधालय म्याग्दीले जनाएको छ । म्याग्दीको मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका प्रायः सबै भीरमा सिलाजित पाइने स्थानीयवासीले बताएका छन् ।
सिलाजितलाई जडीबुटीको राजा मानिन्छ । बल पुष्टिकारक, ओजबर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण सिलाजितमा पाइने आर्युवेदिक चिकित्सक बताउछन् । सूर्यको किरणमा सिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट सिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी सिलाजित भन्ने गरिन्छ । सिलाजितयुक्त ढुङ्गालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी सिलाजित भन्ने गरिन्छ । भिरबाटै सङ्कलन गर्न सके निकै शुद्ध ुिसलाजित निस्कन्छ ।

म्याग्दी जिल्लामा सिलाजितसँगै ६० भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । सिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणि सापकोटाले बताउनुभयो । आयुर्वेद अनुसार सिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई सिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ सिलाजित हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस !