चितवन । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओलीले आज चितवन आउँदै हुनुहुन्छ । उहाँ सडक मार्ग हुँदै आउन लाग्नुभएको हो । यस क्रममा धादिङ र चितवनका विभिन्न स्थानमा नेता कार्यकर्ताहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

ओलिलाई धादिङको फिस्लिङ र चितवनको मुग्लिनमा स्वागत गरिने जनाईएको छ । यस्तै ओलीले मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगामा उहाँहरुको शालिकमा माल्यार्पण गर्नुहुनेछ ।

नारायणगढ आए लगत्तै अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँहरुको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । उद्घाटन सत्रको टुंगो लागेपनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुंगो लाग्ने नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

भोलि १६ गते नारायणी नदीमा क्रुजको अवलोकन गर्ने र माडीको अयोध्याधाम जाने कार्यक्रम रहेको छ । ओलिसँगै एमाले नेताहरु रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे पनि जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस !