काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको बताउनुभयो । एमाले सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतसँग सम्बन्ध बिगार्यो भनेर आफूमाथि आरोप लगाइएको बताउनुभयो । उहाँले ती व्यक्तिहरुमा लेण्डुप दोर्जे मानसिकता रहेको समेत टिप्पणी गर्नुभयो ।

ओलीले भन्नुभयो जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो,कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।

अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइट काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताउनुभयो । अध्यक्ष ओलीले प्रचण्ड–माधव लगायत अहिलेको सत्ता गठबन्धनका नेताहरुको काम केपी ओली,केपी ओली भन्दै धारे हात लाउने बाहेक अरु केही नरहेको टिप्पणी गर्नुभयो । ओलीले आफू अस्पताल जाँदा प्रचण्ड–माधवको अनुहारमा चमक देखिने र फर्केर आउँदा अँध्यारो हुने गरेको सुनाउनुभयो । ओलीले भन्नुभयो म अस्पताल गएँ भनेपछि यीनिहरुको चेहरा उज्यालो हुन्छ । सय वाटको बत्ति बले जस्तो ।

अस्पतालबाट डिस्चार्ज भयो रे भनेपछि झ्याप्प बत्ति निभेजस्तो हुन्छ । यिनीहरुको राजनीति त्यति हो । एमाले कसरी कमजोर पार्न सकिन्छ,कसरी सिध्याउन सकिन्छ त्यही हो यीनिहरुको राजनीति ।

प्रतिक्रिया दिनुहोस !