गलेश्वर ।  जैविक र प्राकृतिक विविधताले भरिपूर्ण ढोरपाटन क्षेत्र, नेपालको एकमात्र शिकार आरक्षका कारण चर्चामा छ । ढोरपाटन क्षेत्रमा नै रहेका र सिकार आरक्षको जत्तिकै महत्व भएका उत्तरगङ्गा, ढोरबराहा र बाइसधारालगायतका धार्मिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार नहुँदा ती सम्पदा भने ओझेलमा परेका छन् ।

चारैतिर हिमालको सेता चुचुरा । हिमालको तल्लोपट्टि राताराता देखिने अग्ला डाँडा, ती डाँडाको मुनि हरियो जङ्गल । तल बस्ती अनि बीचमा कलकल बगेको सङ्लो पानीसहितको स्वच्छ उत्तरगङ्गा नदी, ढोरबाराही र बाइसधारा ढोरपाटन शिकार आरक्षभन्दा कम महत्वका सम्पदा होइनन् । सिकार आरक्षको मात्रै एकतर्फी प्रचारप्रसारले यस्ता महत्वपूर्ण सम्पदा ओझेलमा परेका जानकारले बताएका छन् ।

धौलागिरि हिमशृङ्खलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको ढोरपाटन क्षेत्रको बीच भागमा रहेको उत्तरगङ्गा नदी उत्तरतर्फ बगेको छ । सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी विश्वव्यापीरुपमा नै अत्यन्तै कम हुने र उत्तरबाहिनी नदीलाई अत्यन्त पवित्र मान्ने गरिएको स्कन्दपुराण, बराहा पुराणलगायतका विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

समुन्द्र सतहबाट दुई हजार ८५० मिटरदेखि सात हजार २४६ मिटर उचाइमा रहेको ढोरपाटन क्षेत्रको २६ प्रतिशत भूभाग बागलुङ जिल्लामा पर्छ भने ६० प्रतिशत रुकुम र १४ प्रतिशत भूभाग म्याग्दी जिल्लामा पर्दछ । उक्त क्षेत्र म्याग्दी जिल्लाको गुर्जाघाटदेखि रुकुम जिल्लाको निसेलढोरसम्म फैलिएको छ । बीचमा उत्तरगङ्गा नदी बगेको छ । हिमाली र पहाडी भूभागको सङ्गमस्थल भएका कारण प्राकृतिक दृष्टिकोणबाट ढोरपाटन क्षेत्र अत्यन्त मनमोहक छ । ढोरपाटन शिकार आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्गकिलोमिटर रहेको छ । यो आरक्ष विसं २०४० मा स्थापना भई २०४४ मा सरकारी मान्यता प्राप्त गरेको हो । यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमाल छन् ।

नेपालमा ढोरपाटनको उत्तरगङ्गा र ललितपुरको कर्मनसा नदी मात्र उत्तरवाहिनी नदी भएको बताइएको छ । उत्तरतर्फ भई बग्ने उत्तरगङ्गा नदीको मुहान यहाँस्थित ढोरबराह थान रहेको ढोरपाटन क्षेत्रका जानकारी श्यामबहादुर विकले जानकारी दिनुभयो । ढोरबराह मन्दिरसहित उत्तरगंगा धाम यहाँको अतिप्राचीन तीर्थस्थल भए पनि यसको प्रचारप्रसार हुन नसक्दा सधैँ ओझेलमा परेको उहाँको भनाइ छ ।

उत्तरगङ्गाको उद्गमस्थल ढोरबराहमा भेडाको बलिसहित पूजाआजा गर्ने चलन रहेको छ । यहाँ गरिएको भाकल कहिल्यै झुठा नहुने जनविश्वासले म्याग्दी, बागलुङ, रुकुमलगायत नेपालका विभिन्न ठाउँबाट समेत यहाँ पूजाआजाका लागि मानिस आउने गरेका ढोरपाटन नगरपालिका– ७ का रेशबहादुर बूढामगरले जानकारी दिनुभयो । भेडाको बलिसहित ढोरबराहको पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

ढोरबराहमा पूजा गर्न जाने भक्तजनले रुद्रावती गङ्गाको उद्गमस्थल रुद्रताल स्नान एवं पूजा गरी ढोरपाटन देउरालीमा पाती चढाएर जाने भएकाले यहाँको पूजा रुद्रतालबाट सुरु हुने गर्दछ । उत्तरगङ्गा नदीको उद्गमस्थल ढोरबराहको पूजा गरेर मनले चिताएको पुग्ने जनविश्वासका आधारमा विभिन्न भाकलसहित पूजा गर्न जानेको सङ्ख्या धेरै रहने गरेको छ ।

त्यसैगरी ढोरपाटन क्षेत्रको धेरैपटक स्थलगत भ्रमण गर्नुभएका बागलुङका पत्रकार डम्बर बूढामगरका अनुसार ढोरबराह मन्दिरमा कुनै पनि समयमा नसुक्ने बाइस धारा छन् । बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास कायमै छ । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगङ्गामा बगाउने प्रचलन पनि छ । आवश्यक भौतिक पूर्वाधारका साथै प्रचारप्रसारका अभावमा ढोरबराह र उत्तर गङ्गाधाम विकासका दृष्टिले अझै पछि परेको पत्रकार बूढामगरले बताउनुभयो ।

केही समयअघिसम्म अत्यन्त दुर्गम मानिएको ढोरपाटन क्षेत्रमा पछिल्लो समय विकासले गति लिँदै गरेको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्ती मगरले जानकारी दिनुभयो । पछिल्लो समयमा ढोरपाटनसम्म जाने बाटो सहज बन्दै गएपछि भक्तजन आउने क्रममा क्रमशः वृद्धि भइरहेको उहाँको भनाइ रहेको छ । उत्तरगङ्गा धामको प्रचारप्रसार नहुँदा आवश्यक पूर्वाधार विकासले गतिलिन नसकेको उहाँले बताउनुभयो ।

ढोरपाटन र आसपासका पर्यटकीयस्थलको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि केही समय पहिलो नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा यस क्षेत्रको अध्ययन भ्रमण गराइएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो, “सरोकारवाला सबैको प्रयासमा यहाँको प्रचारप्रसारका साथै भौतिक पूर्वाधार विकास गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

रुकुमको टक र ढोरपाटन हुँदै बुर्तिबाङको सेराबीचको क्षेत्रलाई ‘टकसेरा’ भनिने स्थानीय बताउँछन् । त्यसैगरी ढोरपाटनको दक्षिणपट्टिको डाँडामा रुद्रताल रहेको छ । उक्त तालबाट बगेको पानी गुल्मीको बेलिनमा आएर कालीगण्डकीमा मिसिने भएकाले उक्त ठाउँको नाम रुद्रवेणी भएको इतिहास छ । ढोरपाटनमा रहेको ढोरबाराही मन्दिरमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । उक्त क्षेत्रमा प्रत्यक वर्षको साउन शुक्ल पूर्णिणा (जनैपूर्णिमा) मा विशेष मेला लाग्ने गर्दछ ।

ढोरपाटन शिकार आरक्षको पाटन क्षेत्रमा हरेको उत्तरगङ्गा नदीको शिरबिन्दुमा उत्तरगङ्गा धारा रहेका छन् । उक्त ठाउँमा २२ वटा बाह्रैमास पानी आउने धारा छन् । ती २२ धारामा नुहाएर नजिकैको ढोरबाराही मन्दिरमा पूजा गरेमा सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । ढोरपाटनमा तिब्बतीयन क्याम्पसमेत रहेको छ । उक्त क्याम्पमा १६ घर परिवार तिब्बतीयन रहेका वडाध्यक्ष मगरले बताउनुभयो ।

ढोरपाटन क्षेत्रको जनजीवन अहिले पनि फिरन्ते युगको जस्तै छ । यहाँका मानिस खेती गर्न बेंसीमा आउने र बसोबासका लागि लेकमा जाने गर्दछन् । उनीहरूको बासस्थान छ महिना बेंसीमा र छ महिना लेकमा बस्ने गर्दछन् । ढोरपाटनमा रहेको विमानस्थललाई सञ्चालनमा ल्याउन सकेमा यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न अझै सजिलो हुने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !