डोटी । जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । बाढी पहिराबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो ।

यही कात्तिक पहिलो साता आएको बाढी पहिरोबाट सयौँ घरमा क्षति पुगेको थियो । सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु सात हजार नगद तथा खाद्यान्न, लुगाकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी र पहिराले तहस नहस बनाएको छ, कयौँको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौँ ।”

उक्त पालिकाको वडा नं ४ को सैगडामा चार जना, वडा नं १ मा एक जना र वडा नं ३ नवलपुरमा बाढी पहिराबाट दुईको मृत्यु भएको थियो । वर्षासँगै आएको बाढी पहिराबाट सडक पूर्णरुपमा बन्द भएका छन् । भत्किएका सडक खोल्ने भइरहेको ओझाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !