गण्डकी । पोखरामा क्रियाशील पत्रकार श्याम राना दसैँलगत्तै अन्नपूर्ण अधार शिविरसम्मको पदयात्राका लागि निस्कनुभयो । उहाँसँगै काठमाडौँबाट आउनुभएका अन्य दुई सञ्चारकर्मी पनि हुनुहुन्थ्यो ।

कोरोनाका कारण झण्डै दुई वर्षयता ठप्प जस्तै बनेको अन्नपूर्ण आधार शिविर(एविसी) क्षेत्रको पदयात्राका लागि देशका विभिन्न स्थानबाट आएका आन्तरिक पर्यटकमा पदयात्राप्रति देखिएको आकर्षण तथा उत्साहले उहाँ यतिखेर दङ्ग हुनुहुन्छ । अन्नपूर्ण आधार शिविरसम्म पुग्दा र फर्कंदा बाटोमा लस्करै देखिएका पदयात्रीको चापले सो क्षेत्रका पर्यटन व्यवसायीलाई आफूले निकै उत्साहित पाएको उहाँले बताउनुभयो ।

“कोरोनाका कारण लामो समयसम्म घरबाट निस्कन नपाएका पर्यटक यतिखेर खुसीका साथ अन्नपूर्ण आधार शिविर क्षेत्रमा पदयात्रा गरिरहेका छन्”, उहाँले भन्नुभयो, “पदयात्रा गर्न पाउँदा पर्यटक हर्षित त छन् नै पर्यटकलाई स्वागत गर्न पाउँदा पदयात्रामार्गका व्यवसायीको खुसी अझै चुलिएको छ ।”

लामो समयदेखि प्रभावित पदयात्रा पर्यटनले गति लिएसँगै सो क्षेत्रका व्यवसायीलाई पर्यटकलाई न्यानो आतिथ्यतासँगै खानपान र बसोबासको व्यवस्था गर्न भ्याइनभ्याइ छ । कोभिड–१९ को महामारीका कारण दुई वर्षयता सुनसान बनेका अन्नपूर्ण संरक्षण क्षेत्रका पदमार्ग दसैँको आगमनसँगै आन्तरिक पर्यटकले भरिभराउ भए । कोरोनाले बन्द यस क्षेत्रको पदयात्रा आगामी असोज पहिलो साताबाट खुलेको हो । विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधार शिविर क्षेत्रमा स्वास्थ्य मापदण्ड बनाएर पदयात्रा खोलिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले बताउनुभयो ।

नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यस पदमार्गको विशिष्टता रहेको र यस क्षेत्रको पदयात्रामा आउनेका लागि अधिकतम सेवासुविधा उपलब्ध गराउनेतर्फ यहाँका व्यवसायी क्रियाशील रहेको युवा पर्यटन व्यवसायी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

यस पदमार्ग क्षेत्रका २६ होटलले पर्यटकलाई सेवा दिइरहेकामा अन्य १० होटेल थप्ने भनिए पनि कोरोनाका कारण त्यो सम्भव हुन सकेको थिएन । चार दशकअघि उक्त आधार शिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा÷भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यतालाई भने सुविधासम्पन्न होटेलको निर्माणले अन्त्य गरिदिएको छ ।

विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ«े र अन्नपूर्ण आधार शिविरसम्म होटेल चलेका थिए । मापदण्डअनुसार प्रत्येक होटलमा छसहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ । कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने यस क्षेत्रमा पछिल्लो दुई वर्ष भने कोरोनाका कारण सुनसान जस्तै बनेको थियो ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । आठ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र पदयात्राका दृष्टिबाट पनि उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो । घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन् ।

पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि पस्कन थालेका छन् । एक्यापले स्थानीयवासीलाई बेलाबेलामा तालिम दिँदै आएको छ । होटेलले विदेशी परिकार बनाउन सक्ने कुक राख्न थालेका छन् । होटलको क्षमता विस्तारसँगै पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेका बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित प्राचीन पुजनीय बराह तथा सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्तास्थललाई थप व्यवस्थित गर्न चासो बढ्नुका साथै यी स्थानले पदयात्री पर्यटकलाई लोभ्याउने गरेका छन् ।

मौसमको प्रतिकूलताका बाबजुद पनि दसैँलगत्तै पदमार्ग क्षेत्रमा देखिएको चापले यहाँका व्यवसायीमा उत्साह जगाएको गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण आधार शिविर(एविसी) सँगै मर्दी हिमाल पदयात्रा र माछापुच्छ«े पदमार्गमा दसैँयता केही विदेशीसहित स्वदेशी पर्यटक दसैँमा उल्लेख्य बढेका थिए ।

पर्यटक नआउँदा लामो समय सुनसान बनेका पदमार्गका होटल तथा रेष्टुरेन्ट भरिभराउ बनेपछि पर्यटन व्यवसायीको मन उत्साहित बनाए पनि केही दिन यताको मौसमको प्रतिकूलता र लगायतका झरीले भने उनीहरूको मन कुँडिएको छ ।

दसैँको घटस्थापनादेखि पदमार्गमा आन्तरिक पर्यटकको चाप बढ्दै गएकामा दसैँको टीकाको भोलिपल्टदेखि त यहाँका होटलमा कोठा पाउनै मुस्किल पर्न थाल्यो । होटलका कोठा पाहुनाले भरिए । आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिएको पदमार्ग पर्यटकको आकर्षणलाई केही दिन यताको लगातारको वर्षाले भने प्रभावित बनाएको छ ।

मर्दी हिमालको हाइक्याम्पमा होटल स्नोल्याण्ड एण्ड स्पा सञ्चालन गर्दै आउनुभएका राजु पौडेलले घटस्थानादेखि मर्दी पदयात्रामा आन्तरिक पर्यटक व्यवस्थापन नै गर्न हम्मेहम्मे पर्ने गरी गरी बढे पनि मौसमको प्रतिकूलताले धेरै पर्यटकले बुकिङ सार्न थालेको बताउनुभयो ।

पर्यटक बढेपछि हाइक्याम्पमा चालू अवस्थामा रहेका ११ वटा होटलमा पर्यटकलाई बास र खानाको प्रबन्ध गर्नसमेत भ्याइनभ्याइ भएको उहाँले सुनाउनुभयो । “हामीले सोचेभन्दा धेरै पर्यटक अहिलेको दसैँमा मर्दी हिमाल आउनुभयो, कूल पर्यटक आवागमनमा १० प्रतिशत जति विदेशीसमेत हुँदा हाम्रो मनमा खुसी छाएको थियो”, उहाँले भन्नुभयो, “मौसमको प्रतिकूलताका कारण कतिपयले बुकिङ सार्नुभएको र कतिपयले रद्दसमेत गर्नुपरेको हुँदा मन खिन्न भएको छ ।”

उहाँले केहीले बुकिङ पछाडि सारे पनि बिग्रँदो मौसमका कारण आफूहरू चिन्तित बनेको जनाउँदै भन्नुभयो, “मौसम सामान्य नै रहेको भए यसपटक तिहारसम्म नै पर्यटक थामिनसक्ने गरी आउने देखिएको थियो, त्यहीअनुसार अग्रिम बुकिङ पनि लिएका थियौँ ।” “कोरोनाले दुई वर्षसम्म दिएको पीडा अहिले भुलाउँदै खुसी साट्न नपाउँदै मौसमले धोका दिएको छ”, उहाँले थप्नुभयो ।

मौसममा बदलावका कारण अधिकांश पर्यटकले पदयात्रा स्थगन गरे पनि केही पर्यटक भने झरीको प्रवाह नगरी रेनकोट र बुट लगाएर भए पनि पदयात्रामा गरिरहेका छन् । कोभिडका कारण लामो समय घरभित्रै गुम्सिएका अहिले चुनौतीको सामना गरेर भए पनि पदयात्रामा निस्किएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष एवं होटेल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदीप गौतमले दसैँ सुरुपछि दैनिक ३०० जनाको हाराहारीमा पदयात्राका लागि पर्यटक मर्दी हिमाल आएको बताउनुभयो ।

दसैँ र तिहारको बिदासम्म पर्यटकको चाप यसभन्दा बढी हुने विश्वास आफूहरुले लिए पनि वर्षाका कारणले केही प्रभावित बनाएको उहाँले बताउनुभयो । सरकारले वर्षाका कारण पदयात्रा नगर्न भनेपर्यटकको चाप यसभन्दा बढी हुने विश्वास आफूहरुले लिए पनि वर्षाका कारणले केही प्रभावित बनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !