चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनको उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने भएको छ । नेकपा एमालेले भरतपुरमा पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारीका बारेमा जानकारी दिएको छ ।

एमालेको बागमती प्रदेशको अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी गराउने गरी तयारी सुरू भएको जानकारी दिए ।

अध्यक्ष पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी बन्नेछन्,’ उनले भने, ‘उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको छ ।’

महाधिवेशनमा विधान महाधिवेशनमा सहभागी भएकामध्ये आधा प्रतिनिधि सहभागी हुनेछन । यसअघि बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

पत्रकार सम्मेलनमा एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारी, एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेल र एमाले चितवनकी अध्यक्ष पार्वती रावल पनि सहभागी रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !