काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ । बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ । यस्तै स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी, पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।

आजको बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ। उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । यो कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट हुनुहुन्छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको बताउनु भएको छ । बिहीबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !