काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीले प्रमुख प्रतिपक्षी दलका नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ ।

एनआरएनए महाधिवेशनका लागि परराष्ट्र मन्त्रालयले विभिन्न अड्चन खडा गरेको र संघभित्रै विवाद चर्किँदै गएको बेला अध्यक्ष पन्तसहितको टोलीले ओलीलाई बालकोट पुगेर ओलीलाई भेटेको हो ।

भेटमा पन्तसहितको टोलीले अध्यक्षका उम्मेदवार काँग्रेस निकट कुल आचार्यलाई जिताउन र एमाले निकट बद्री केसीलाई हराउन कै लागि सरकारले बाधा खडा गरेको गुनासो गरेका थिए ।

विश्वभरका एनआरएनएमा एमालेप्रति नै आकर्षण रहे पनि अध्यक्षका उम्मेदवार आचार्यले विभिन्न विवाद झिकेरै परराष्ट्र मन्त्रालयले उजुरी दिएको पन्तको टोलीले ओलीलाई जानकारी गराए ।

मन्त्रालयले विवाद समाधान नगरी महाधिवेशन नगर्न निर्देशन दिएर पन्तको समय ६ महिना थप गरिएको छ ।

संघमा विवाद मिल्नुको साटो बढ्दै गएको बताइएको छ । सत्ता गठबन्धन तथा एमाले निकट उम्मेदवारहरु मैदानमा छन् ।

एमाले अध्यक्ष ओलीले जवाफमा एनआरएनएमा राजनीतिकरण गर्न नहुने बताउँदै एमालेको बाहुल्य रहेको र आफूले एमालेकै नेतृत्व जिताउने गरी महोल बनाउन लाग्ने बताएका थिए ।

के भने ओलीले ?

‘गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपालीहरुको संगठन बनाए विश्वभरि । कुनै राजनीतिक पक्ष विपक्ष नगरौँ भनेर, सबै नेपालीहरु एक भएर, एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ भनेर संगठन बन्यो । कोभिड–१९ का बेला उहाँहरु बसेकै ठाउँमा पनि कोभिड थियो, तर पनि नेपालमा गैरआवासीय नेपालीहरुले संगठित, व्यक्तिगत र अनेक ढंगले सहयोग पुर्याउनुभयो । राजनीति भन्दा फरक राष्ट्रिय भावनाका साथ एकताका लागि लाग्नुभएको छ ।

अहिलेको सरकार, खासगरी काँग्रेस र काँग्रेसका दुईटा जंगे पिलर (माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) यिनीहरुले आन्दोलनलाई बढो नराम्ररी क्षत–विक्षत बनाइदिएका छन् । अधिवेशन हुन दिएको छैन । परराष्ट्र मन्त्रालय त कस्तो भयो भने तामेली अड्डा भयो । र, गैरआवासीय नेपालीहरुको संगठनलाई क्षतविक्षत गर्ने, अधिवेशन हुन नदिने काम भएको छ । सरकारले त सहयोग गरिदिनुपर्ने हो । अहिले सहयोग गर्ने नभई फाटो ल्याइदिने काम भएको छ ।

म काँग्रेसलाई भन्न चाहन्छु र काँग्रेसका पिछलग्गुहरुलाई भन्न चाहन्छु, चुनावमा हामीसँग लड्न आउनुस् न देशभित्र, किन एनआरएनएसँग लगिराख्या ? लड्ने भनेको त हामीसँग हो नि । एनआरएनएसँग झमेला गर्याछ । उनीहरुले त आफ्नो काम गरेका छन्, देशलाई सहयोग गरेका छन् । जहाँ पनि विवाद, जहाँ पनि फाटो ल्याएको छ, यस्तै हुन्छ लोकतन्त्र ?’

प्रतिक्रिया दिनुहोस !