शिशिर सिंखडा, चितवन । चितवनको रत्ननगर-११, मंगलपुरमा रहेको गामबेंशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालिकाहरुका लागि नव निर्मित ६ कोठे छात्रावास भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
जर्मन- नेपाल फ्रेण्डसिप यसोसियसनको सहयोगमा निर्मित सो २ तले ६ कोठे भवन करिब ४५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । सो भवनमा ४५ जना विद्यार्थी आवासीय रूपमा बस्न सक्नेछ्न । सो भवनमा अब देखि छात्राहरुको लागि छुट्टै आवासको ब्यबस्था हुने छ । केन्द्रमा आज आयोजित कार्यक्रममा जर्मन- नेपाल फ्रेण्डसिप यसोसियसनका प्रमुख, एनआरएनएका सस्थापक तथा केन्द्रका प्रमुख सल्लाहकार समाजसेवी रामप्रताप थापाले सो भवनको रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा उहाँले बिपन्न तथा अल्पसंख्यक चेपाङ विद्यार्थीको उन्नतिका लागि सहयोग गर्न पाँउदा खुशीलागेको बताउनु भयो । साथै उहाँले सबै पक्ष मिलेर चेपाङको शैक्षिक एवं आर्थिक बिकासमा लाग्नु पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा रत्ननगर वडा नं.११ का वडा अध्यक्ष शशीभक्त न्योपाने, सामाजिक अभियान्ता तथा केन्द्रका सल्लाहकार रामकुमार अर्याल, पञ्च तेजज्योति आधारभुत बिधालयका प्राचार्य खेमबहादुर मगर, जगत चेत प्रतिष्ठानका किरण महर्जन, ईन्जिनियर आनन्दराम थापा, गामबेंशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो । सो केन्द्रमा बिपन्न बस्तीका १ सय ७० जना चेपाङ विद्यार्थी आवासीय रूपमा रही अध्ययनरत छन ।

प्रतिक्रिया दिनुहोस !