चितवन । चितवन स्टार मिडिया प्रालिद्वारा सञ्चालित समावेशी खबर डटकम अनलाइनले दसैँ, तिहार तथा छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले चाडपर्वको शुभकामनासँगै सञ्चार माध्यमले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

खैरहनीको पर्सा बजारमा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सञ्चार माध्यमकले सत्यतथ्य, खोज र अनुसन्धानमूलक खबर लेख्नुपर्नेमा जोड दिए । देशलाई समृद्धि र नागरिकलाई सुखी बनाउनका लागि पत्रकारहरु दलीय स्वार्थबाट अलि माथि उठेर निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा डल्लाकोटीले जोड दिए । पत्रकारिता निष्पक्ष भयो भने मर्यादा उच्च हुने भन्दै उनले पत्रकारिताको विकास धेरै भएको तर गुणात्मक विकास हुन नसकेको धारणा राखे ।

डल्लाकोटीले पत्रकारिता पेसालाई मर्यादित बनाउँदै गर्व गर्ने ठाउँ बनाउनुपर्नेमा जोड दिए । उनले नागरिकलाई सूचित र सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई खबरदारी गर्नुपर्ने दायित्व पत्रकारको भएको उल्लेख गरे । पत्रकारकै खबरदारीका कारण मुलुकले समृद्धि हासिल गर्ने डल्लाकोटीको भनाइ थियो ।

सो कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रभा बरालले चाडपर्व हाम्रा संस्कृति भएको भन्दै संस्कृति संरक्षण गर्नतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । केही व्यक्ति खराब हुँदा सम्पूर्ण पत्रकारलाई बद्नाम गराउने काम भएकाले नराम्रा पक्षलाई परास्त गरेर अगाडि पढ्न बरालले सुझाव दिइन् ।
त्यस्तै, खैरहनी नगरपालिका उपप्रमुख सुनिता खरेल थपलियाले चाडपर्वलाई आफ्नै घरपरिवारमा बसेर मनाउन आग्रह गरिन् । चाडपर्वको नाममा विकृति भित्र्याउन नहुने भन्दै थपलियाले धर्म संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिइन् । युवाहरुले युवालाई सचेत बनाउँदै मौलिक पर्व संरक्षणमा सहयोग गर्नुपर्ने थपलियाको भनाइ थियो ।

चाडपर्वको शुभकामना मन्तव्य राख्दै राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामालेसबैलाई सकारात्म सोचको विकासमा प्रेरित हुनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाली कांग्रेस खैरहनी नगर सभापति गुणराज श्रेष्ठले समाजमा धेरै प्रकारका विकृति भएका उल्लेख गर्दै तिनीहरूको विरूद्धमा कलम चलाउँदै पत्रकारले जनतालाई सही सूचना दिनुपर्ने बताए । पत्रकारको कलमले समाजमा ठूलो हलचल ल्याउने हुँदा, संयमित भएर खोजमूलक सूचना दिनुपर्ने श्रेष्ठको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले पत्रकारितामा विश्वसनीयता गुम्दै गएको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए । केही व्यक्तिका कारण पत्रकारिता पेसा नै प्रभावित हुने गरेको भन्दै अधिकारीले सञ्चार माध्यमहरू आवाज विहीनहरुको आवाज बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा वक्ताहरुले चाड पर्व मनाउँदा अरूलाई पीडा हुनेगरी मनाउन नहुने भन्दै सबैले आफ्नो क्षमताअनुसार मनाउन सुझाव दिए ।

कार्यक्रममा उपस्थित रत्ननगर नगरपालिका प्रमुख नारायण वनको सन्देश कार्यक्रम सञ्चालक ध्रुवराज खनालले सुनाएका थिए । घाँटीको समस्याका कारण वनको शुभकामना सन्देश खनालले सुनाएका हुन् । कार्यक्रममा खैरहनी–२ का वडाअध्यक्ष टीकादत्त इटनी, खैरहनी–१ वडा अध्यक्ष भूमिप्रसाद कँडेल, रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् नेपाल ह्याचरी संघ वाग्मती प्रदेश अध्यक्ष ज्ञानबहादुर विसुराल, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सुवाष भट्टलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम चितवन स्टार मिडिया प्रालिका अध्यक्ष एवं समावेशी खबर डट कमका सम्पादक विकास पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !