काठमाडौं । नेपालको पश्चिमी भू–भागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।

लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । केही दिनभित्र पूर्वी नेपालबाट पनि मनसुन बाहिरिएसँगै बर्खा पूर्ण रुपमा सकिनेछ ।

‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ।’

आज बिहान प्रदेश १ र बाँकी पहाडी भू–भागको मौसम आँशिकदेखि सामान्य बदली भएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक÷दुई स्थानमा र बाँकी प्रदेशका थोरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !