काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नवौँ अधिवेशनको ११औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रियसभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले केही समयता संसद्मा अवरोध गर्दै आएका छन् । पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न सभामुखसमक्ष माग गर्दै एमालेले संसद् अवरुद्ध गरेको हो । आज पनि संसद् बैठक चल्न नदिने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस !