बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनः मिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थाम डाँडाका ७५ वर्षीय ङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलवार मात्रै आफन्तसँग भेट भएको हो ।

विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यति बेला परिवारले पाएका थिए । त्यसपछि पनि उहाँ परिवारको सम्पर्कमा आउनुभएन । हालै मात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्बिर राखेका र उहाँले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुर्ख्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थाम डाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबिच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झन्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आउनुभएका गुरुङ थाम डाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसँग मङ्गलवार पुनः मिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनः मिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयो ।

साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनः मिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनः मिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो ।

घरबाट हराएपछि भाँैतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेलधुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयवासी सँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले माछा मार्ने पेशा अँगाल्नुभएको थियो । उहाँलाई लिन पुगेका आफन्तलाई गाउँलेहरूले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस !