कपिलवस्तु। कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शाैच गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकैको खेतमा पुगेका थिए । चारपटकसम्म पातलो दिसाभयाे ।

दैनिक ज्याला मजदुरी गर्ने केवटले त्यो दिन काम पाएका थिएनन् । काम नभएपछि उनी घरमै थिए । राति ९ बजेपछि उनको स्वास्थ्यमा झन थप समस्या आउन सुरु भयाे । पातलो दिसासँगै बान्ता पनि भयाे । झाडा बान्ताका कारण केवटले उपचार नपाइ ज्यान गुमाए ।

केवटको घरदेखि शिवराज अस्पतालको दूरी करिब ३ सय मिटर छ । कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्पतालमा उपचारका लागि धेरै खर्च पनि लाग्दैन । २० रुपैयाँमा इमरजेन्सी टिकट काटेर उपचार गर्न सकिन्थ्यो । तर, केवट परिवारसँग टिकट काट्ने पैसासमेत थिएन । पैसा नभएपछि केवटका पत्नी दुखनाले अस्पताल जाने आँटसम्म गरिनन् । रात ११ बजे उनले घरमै प्राण गुमाए ।

‘अस्पतालमा लाग्ने टिकट काट्न पैसा थिएन । पैसा नभएपछि उपचार गराउन जान सकिन । दाह संस्कार गर्नसमेत छिमेकी वमन सिंहले कफन किनेर दिएका हुन्,’ दुखना भन्छिन् , ‘घरमा अरू कसैलाई केही भएको छैन । ४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो । झाडापखालाको कारणले आफ्नो पति गुमाउँछु भन्ने लागेको थिएन । टिकट काट्न २० रुपैयाँ भएको भए अस्पताल पुराउँथे होला । ’

अति विपन्न केवट एक पत्नी तीन छोरा र दुई छोरीसहित सानो झुप्रोमा बस्दै आएका थिए । इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भएको उनको घर छ । रामप्रसादको मृत्यु भएपछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आर्थिक अवस्था अति न्यून भएको कारणले उनका छाेराछाेरीले स्कुल देखेनन् । भारत बस्दै आएका जेठा छोरो कोरोनाको कारणले रोजगारी गुमेपछि नेपाल बस्दै आएका छन् । माइलो छोरा तीन दिनदेखि स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका छन् । कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्थिन् । तर केही महिना अघि पाँचवटै बाख्रा मरे ।

प्रतिक्रिया दिनुहोस !