काठमाडौँ ।  सडी समाज काठमाडौँले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य बैजनाथ महतो, विभूषण समितिका सदस्य इन्जिनियर ओमप्रकाश महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती शान्ति महतो र सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह हुनुहुन्छ ।

सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित दसैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान, छलफल तथा सम्मान कार्यक्रममा उहाँहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवम् पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण साह र समाजका अध्यक्ष डा अशोक महासेठले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

सो अवसरमा नेता महतोले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै मानव र समाजसेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताउनुभयो । सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै उहाँले समाजमा देखिएको विकृति–विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष साहले सबै नीतिको मूल नीति राजनीति हो भन्दै नेपाली जनता र राष्ट्रको विकासका लागि आफू राजनीतिमा लागेको बताउनुभयो । उहाँले समतामूलक समाज र समाजिक न्याय स्थापनाका लागि सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बिच्छाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सबैसँग आग्रह गर्नुभयो ।

प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य महतो, विभूषण समितिका सदस्य इन्जिनियर महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती महतो लगायतले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष डा अशोक महासेठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्षद्वय इन्जिनियर उमाशङ्कर साह र डा आरपी चौधरी, महासचिव शीतलप्रसाद महतो कोषाध्यक्ष श्रीराम पूर्वेलगायतका वक्ताहरुले सांस्कृतिक एवं सामाजिक विविधता हाम्रो देशको मौलिक पहिचान हो । यही विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्दै समाजका सबै सदस्यहरुबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !