देउखुरी । ‘गिलाङ्गा डगै बाल्य उमेर लड्दै कपिरा फुरफुर ।गिलाङमा म्याक सै काग्चे दुःख सुख झेल्दै ।।’‘गिलाङ गिमर उही चिउ, आपे टोक्डा गिलाङ्गा हाङजी जपकडै भर चिउ।।’

अर्थात ‘जङ्गलमै बित्यो बाल्य उमेर लड्दै र खेल्दै । जङ्गलमै बाघ भालुसँग दुःख सुख झेल्दै । जङ्गलभित्र घर छ, यता हामीलाई जङ्गलमा कन्दमुलकै भर छ ।।’
प्यूठान सरुमारानी गाउँपालिका–६ बढीचौरकी १८ वर्षीया हिमा कुसुन्डालाई सुरुमा मातृभाषा बोल्न पनि आउँदैन थियो तर अहिले यसरी गीत लेखेर गाउनसक्ने हुनुभएको हो ।

कुसुन्डा भाषा संरक्षण र पुस्तान्तरणका लागि जीवन्त राख्न सघाउने उहाँको लक्ष्य छ । “भाषा बचाउने योजना गरेर नै यो गीत लेखेकी हुँ । सुरुमा नेपाली र कुसुन्डा भाषा मिलाएको थिएँ । अहिले कुसुन्डा भाषामै गीत बनाएकी छु” हिमाले भन्नुभयो, “कतै कार्यक्रममा गएँ भने कुसुन्डा भाषाको गीत सुनाउने गर्छु ।” दुई जनामात्र बोल्न जान्ने यस समुदायमा पछिल्लो समय नयाँ पुस्ता पनि भाषा अध्ययन गरेर गीत लेख्न सक्ने भएका छन् । भाषालाई जीवन्त राख्न नयाँ पुस्ता उत्साहका साथ लागेका छन् ।

सोही गाउँकै मनबहादुर र फाली कुसुन्डा पनि दाङको महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भाषा कक्षा पनि सिकिरहनुभएको छ । अहिले उहाँहरू घरमा पनि कुसुन्डा भाषा बोल्न थाल्नुभएको छ। सोही विद्यालयकी कक्षा ८ मा अध्ययनरत प्रेमी कुसुण्डा पनि छात्रावासमै बसेर भाषा पनि अध्ययन गर्नुहुन्छ । उहाँलाई पहिले मातृभाषा बोल्न आउँदैनथ्यो । हिजोआज विद्यालयमै बिहान भाषा सिक्न थालेदेखि उहाँले भेटिने जति सबैलाई सोजाक ९नमस्कार० भन्न थाल्नुभएको छ ।

मातृभाषा सिकेमा लोप हुँदैन भन्ने लागेर नै पढ्न थालेको प्रेमीले जानकारी दिनुभयो । “सुरुसुरुमा त भाषा बुझिँदैनथ्यो, पढ्दै जाँदा सबै जान्ने हुँदै आएका छौँ, भाषा पढ्ने साथीले एकापसमा कुसुण्डा भाषामै कुरा गर्ने गरेका छौं”, उहाँले भन्नुभयो,“पढ्दै जाँदा सजिलो भएको छ, तपाईको घर कहाँ हो भन्न परे ‘निगी उही हाना’ भन्छौँ ।”

पहिलो चरणमा भाषाको प्रारम्भिक ज्ञान हासिल गरेपछि दोस्रोमा सामाजिक सम्बन्ध सम्बन्धी भाषा सिकाउने गरिएको भाषा शिक्षक उदयराज आलेले बताउनुभयो । तेस्रो चरणमा पाठ्यक्रममा आधारित र चौंथोमा शब्दावली, ब्याकरणसहित विज्ञ बन्ने खालको शिक्षा दिइन्छ । भाषा कक्षालाई अब परिवार र प्रविधिसँग जोडेर विस्तार गर्ने योजना बनाइएको छ । सामाजिक सञ्जालमा समेत कुसुन्डा भाषा प्रयोग गर्न सबैलाई अनुरोध गरिरहेको शिक्षक आलेले बताउनुभयो । कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका छोटो भिडियो बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना रहेको उहाँको भनाइ थियो ।

 

कुसुण्डा भाषाको पाठ्यपुस्तक लेखक आलेले दाङमा यो भाषा बोल्ने मानिस धेरै भइसकेको बताउनुभयो । आफ्नो मातृभाषा नेपाली भए पनि यो भाषा संरक्षणका लागि अनुसन्धान गरी पाठ्यपुस्तक तयार पारेर अर्को पुस्तालाई सजिलो गराइदिएको उहाँले जानकारी दिनुभयो ।

“लेख्य भाषा भएन भने भाषा मर्छ, यसलाई जीवन्त राख्न लिपिबद्ध गर्नुपर्छ भन्ने लागेर पाठ्यपुस्तक तयार पारिएको हो । मातृभाषा कुसुण्डा भए पनि पढ्न आएका बालबालिकाले बोल्न र लेख्न जान्दैनथे । पाठ्यपुस्तक भएपछि उनीहरुलाई पढ्न सजिलो भएको छ । अब नयाँ पुस्ताले भाषा सिक्न थालेपछि संरक्षण हुने र लिपिबद्ध गरेर जीवन्त राख्न सकिने आशा पलाएको छ” लेखक आलेले भन्नुभयो ।

सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका विद्यार्र्थीलाई छात्रावासको व्यवस्था गरेपछि शिक्षाको पहुँचभन्दा टाढा रहेकाको पनि पहुँच पुगेको हो । लोपोन्मुख कुसुण्डा, बादी र माझी समुदायका २० बालबालिका उक्त विद्यालयको छात्रावासमा बसेर पढ्ने गरेका छन् ।

उनीहरुमध्ये १८ जनाले कुसुन्डा भाषा सिकेका छन् । कुसुण्डा भाषा विज्ञ ज्ञानीमाया सेनको दुइ वर्ष अघि ८५ वर्षको उमेरमा निधन भयो । अहिले जिल्लामा उक्त भाषाका दुई मात्र जीवित विज्ञ कमला खत्री सेन र प्रेमबहादुर कुसुण्डा हुनुहुन्छ । उहाँहरुलाई भाषा बोल्न आउँछ तर लेख्न आउँदैन ।
“आफूसँगै भाषा पनि लोप हुन्छ कि भन्ने चिन्ता लागेको थियो, अहिले पछिल्लो पुस्ताले भाषा सिकेको देख्दा खुशी छु । उनीहरुले लेखेर राख्दैछन्, अब हराउँदैन । भाषासँगै संस्कृति पनि हराउँछ, यसलाई जोगाएर राख्न आवश्यक छ भन्ने मलाई थाहा थिएन, म बोलेरै सबै कुरा सिकाउँदैछु”, सेनले बताउनुभयो ।
नेपालमा मात्र बोलिने १२३ भाषामध्ये २१ भाषा एक हजारभन्दा कम मानिसले बोल्छन् । विसं २०५८ को जनगणनानुसार नेपालमा कुसुण्डाको सङ्ख्या १६४ तथा भाषा बोल्नेको सङ्ख्या ८७ उल्लेख थियो भने विसं २०६८ को तथ्याङ्कमा कुसुण्डा २१३ र भाषा बोल्नेको सङ्ख्या २८ उल्लेख छ ।
कुसुण्डा विकास समिति, केन्द्रीय कार्यालयको अध्ययनमा दाङ, सुर्खेत, अर्घाखाँची, कपिलवस्तु, गोरखा र तनहुँ जिल्लामा कुसुण्डाको सङ्ख्या १५० रहेको बताइएको छ ।
ज्ञानीमैया र कमलाले कुराकानी गरेको ४० घण्टाको भिडियो लेखक आलेसँग सुरक्षित छ । अहिले उहाँ त्यसलाई अनुवाद गरेर नेपाली र अङ्ग्रेजीमा तयार गर्दै हुनुहुन्छ ।“यो एउटा ऐतिहासिक दस्ताबेज हुन्छ । दुवै जनाले घरायसी रूपमा गरेको कुराकानीलाई रेकर्ड गरिएको छ,” उहाँले भन्नुभयो,“यसमा धेरै नयाँ शब्द प्रयोग भएका छन् ।”

कुसुन्डा विगतमा जङ्गलमा फिरन्ते जीवन बिताउँथे । बास बस्न जङ्गलमा ओढार खोज्दै हिँड्थे । गाउँ पसेर माग्थे अनि जङ्गलमै फर्केर खान्थे । आफ्नै भाषा, संस्कृति र परम्परा भएका उनीहरू गाउँमा बस्न थालेपछि भाषा हराउँदै गएको हो । गाउँमा छरिएर बसेका कारण पनि उनीहरूको भाषा प्रयोगमा आउन सकेन । भाषा सङ्कटमा परेकैले कक्षा चलाइएको कमलाले बताउनुभयो ।

दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले ३० जनामा फैलिएको छ । यो भाषा पूर्णरूपमा बोल्ने ज्ञानीमैया र कमला मात्रै हुनुहुन्थ्यो । ज्ञानीमैयाको दुई वर्ष अगाडि मृत्यु भएपछि अब कमला मात्रै बाँकी हुनुहुन्छ । अहिले भाषा बचाउने र विस्तार गर्ने जिम्मेवारी कमलाको काँधमा छ । उहाँहरूकै पहलमा कुसुन्डा भाषा कक्षा चलाउन थालिएको थियो ।

भाषाको संरक्षण र जीवन्त राख्न नयाँ पुस्ताले बोलचाल र एकापसमा कुराकानी गर्दा कुुसुण्डा भाषा नै प्रयोग गर्छन् । उनीहरु आफूले जानेका शब्द गीतका माध्यमबाट सुनाउने र त्यसलाई नेपालीमा उल्था गरेर भन्न सक्ने भएका छन् । भाषा आयोगले अहिले नेपालमा लोपोन्मुख भाषाको संरक्षण गर्ने र मातृभाषाको सम्मान गर्ने उद्देश्य राखी यस्तो अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !