चितवन । चितवनका पुराना कम्युनिष्ट नेता कुलप्रसाद भुषाल नेकपा माओवादी केन्द्र त्यागेका छन् । वैचारिक एवंम राजनितिक हिसावले माओवादी केन्द्रमा विषेश योगदान दिएका खैरहनी निवासी नेता भुषालले माओवादी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् । भुषाल नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य एवं चितवन क्षेत्र नम्वर १ ख का इन्चार्ज समेत थिए ।

बुधवार साँझ एमाले प्रवेश गरेका भुषालले सोही दिनराती सामाजिक सञ्जाल मार्फत नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएको वताएका थिए । माओवादी पार्टीको सवै जिम्मेवारीबाट राजिनामा घोषणा गरेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन् पार्टीमा रहँदा आलोचना र समर्थन गर्ने सवैलाई धन्यवाद,भविष्यमा आफ्नो तर्फबाट जनयुद्ध र जनयुद्धबाट प्राप्त उपलव्धी रक्षाका लागि सक्ने योगदान दिने प्रण गर्दछु । भुषाल वुढी राप्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत हुन् । कुमरोजमा उनको राम्रो प्रभाव छ ।

खैरहनीमा बुधवार एक कार्यक्रम आयोजना गरि भुषाललाई नेकपा एमाले केन्द्रिय सदस्य देवी प्रसाद ज्ञवालीले टिका लगाई पार्टीमा स्वागत गरे । सो अवसरमा एमाले केन्द्रिय सदस्य ज्ञवालीले भुषालको निर्णयको स्वागत गर्दै पार्टी भित्र उचित मुल्यांकन गर्ने वताए । नेकपा एमाले र माओवादी एकता भई पुन विभाजन भएपछि एमालेमा आकर्षण वढेको भन्दै बाटो विराएर एमाले छाडेर गएकाहरु पनि विस्तारै पार्टीमै फर्कने विश्वास व्यक्त गरे । भुषाललाई पार्टी प्रवेश गराउँदा नेकपा एमालेका नेताहरु जेएन थपलिया,कपिल पोखरेल,पार्वती रावल,शैलेश खनाल,जगन्नाथ आचार्य,कमल पाठक,स्वरुप सुयाँल लगायत उपस्थित थिए । एमाले र माओवादी एकतापछि विभाजन हुँदा खैरहनीका अर्का पुराना नेता जगन्नाथ आचार्यले पनि एमालेनै रोजेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !