सञ्जय चौधरी, चितवन, असोज, १३ ।
थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास हुनेगर्छ । सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा मनाउने गरिन्छ । यस ब्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र जहिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठुलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध छ । 

आज थारु समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।

जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्थ्यो तर गत वर्ष झै यस वर्ष पनि कोरोना भाईरस (कोभिड–१९) को प्रकोपले जितियाको खासै चहलपहल छैन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास हुन्थ्यो। तर कोरोना (कोभिड–१९) का कारण थारु समुदायका महिलाहरु खुल्ला तरिकाले झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाउन सकिरहेका छैनन् । बिहानै नुहाईधुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व आ–आफ्नो घरमा सुरक्षित रहेर घरपरिवारमा सीमित भई मनाइरहेका छन् । विगतका वर्षहरुमा विहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्थ्यो तर यसवर्ष पनि कोरोना प्रकोपले जितियाको चहलपहल छैन ।

चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुनेगर्दछ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरि तीनदिन सम्म यो पर्व मनाईन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । हिजो मंगलवार) सप्तमीको दिन भएकोले महिलाहरू विहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरि त्सपछि मात्रै खानेकुरा खाएका थिए ।

आज (बुधवार) अष्टमीको दिनमा महिलाहरू विहानै नुहाई घुवाई गरी सफा र चोखो कपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाउछन् । महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन्। बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही जथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्छन्। भोलिपल्ट अर्थात् नवमीको दिन विहनै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ। त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालबम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।

सन्तानको दिर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाईने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रेहेको छ । यो पर्वले महिलाहरुको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ ।

विशेषगरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहनबाबाको नामले पुर्जा अर्चना गर्ने प्रचलन छ । विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ । विवाहित र अविवाहित दुवै चेलीहरुले यो पर्वमा ब्रत लिन सक्छन्। विवाहितले श्रीमान र आफ्ना सन्तानको दिर्घायुको कामना गर्दै निरहार ब्रत बस्छन् भने अविवाहीत चेलीहरुले जितबाहन जस्तै सुयोग्य पत्ति प्राप्तीका लागि निरहार ब्रत बस्ने चलन छ । चौबिसघन्टे लामो व्रतपछि मात्र चेलीहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास छ ।

यस पर्वलाई थारू विवाहित चेलीबेटीलाई माइतमा ल्याई सुख–दुखका कुरा साट्ने अवसरका रूपमा लिन्छन् । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने संगमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको छ ।

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । तरपनि थारू समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको छ ।

अहिले काठमाडौंमा बस्ने थारु समुदाय लगाएत अन्य समुदायका महिलाहरुले पनि जितिया पर्व धुमधामका साथ मनाउने गर्छन् । संस्कृति झल्काउने पोसाकमा सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेकाछन् । यसरी सामाजिक सद्धभाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व हो ।

प्रतिक्रिया दिनुहोस !