चितवन । माडी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले नियम विपरित राजनीतिक दलका कार्यकर्तालाई नगरपालिकाका कर्मचारीमा नियुक्त गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत गौतमले एकीकृत नेकपा माओवादी माडी नगरपालिका वडा नम्वर ७ का वडा सचिव सुरेश थापालाई आफ्नो गाडी चालकमा नियुक्त गरेका हुन् ।  निजामती कर्मचारी ऐन को दफा ४४ ले निजामती कर्मचारीले राजनीतिमा भाग लिनु हुँदैन भन्ने उल्लेख गरेपनि नगरपालिकाले भने सिधै नगस्तरका माओवादी नेतालाई कर्मचारी नियुक्त गरेको हो ।

माडी नगरपालिकाका कार्यकारी अधिकृत गौतम आफू कार्यालयमा सरुवा भएर आउनुअघिकै करार सम्झौता भएकोले त्यसलाई निरन्तरता मात्रै दिएको दाबी गर्छन् । माडी नगरपालिकामा हाल कार्यरत अधिकांश कर्मचारी करारमा छन् ।

नगरप्रमुख ढकाल र नगरपालिकाका कार्यकारी प्रमुख समेतले आफू अनुकुल व्यक्तिहरु नगरपालिकामा नियुक्ति गर्न स्थायी दरबन्दी भएपनि कर्मचारीको माग गर्न प्रदेश र संघीय लोक सेवा आयोगमा सिफारिस गरेका छैनन् । अधिकांश कर्मचारी करारमा भएकोले महालेखा परीक्षकको कार्यालयले समेत कर्मचारीको विषयमा प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस !