काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफल गरेका छन्।

आज बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए।

गठबन्धनको छलफलमा सहभागी जसपा नेता महेन्द्र राय यादवले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने, गठबन्धनलाई दीगो बनाएर लैजाने जस्ता कुराकानी भएको सेतोपाटीलाई बताए।

‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ, यसबारे निर्णय गर्ने अधिकार शीर्ष नेताहरूलाई नै छ,’ उनले भने। राजनीतिक दल सम्बन्धी अध्यादेशलाई निष्कृय बनाउनेजस्ता कुराकानी पनि आज छलफलमा उठेको थियो।

देउवा प्रधानमन्त्री बनेको लामो समयसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। अहिलेसम्म एक राज्यमन्त्रीसहित कांग्रेसबाट चार र माओवादीबाट २ गरी छ जना मात्रै मन्त्री छन्।

प्रतिक्रिया दिनुहोस !