काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफलसँगै टोली नेता चयन गरेको छ । एमालेले १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा समूह विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइ टोली नेता चयन गरेको हो ।

बैठकमा सुझावका लागि भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको समूह बनाइएको छ । टोली नेतामा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्दप्रसाद पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलवहादुर राना, कर्णालीबाट यमलाल कडेल र सुदुरपश्चिमबाट कर्ण थापा, चयन हुनुभएको छ ।

यस्तै उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई टोली नेता चयन हुनुभएको छ । समूहगत निष्कर्ष र सुझावका आधारमा केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !