चितवन । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोली शनिबार हुने कालिका नगर समिति सभापतिमा लिला बहादुर गुरूङ्ग र दिपेश्वर के.सी. विच तीव्र प्रतिष्पर्धा हुने भएको छ । कांग्रेसका युवा नेताद्वय बिच हुने चुनावी प्रतिष्पर्धामा कसले बाजी मार्ला भन्ने चासो र चर्चा कालिका क्षेत्रमा हुने गरेको छ ।
नेपाली कांग्रेसका वर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठको समर्थन दिपेश्वर के.सी.लाई रहेको बताइएको छ । उनी कांग्रेसको रामचन्द्र पौडेल प्यानलबाट सभापतिमा उम्मेदवार हुने कांग्रेसका एक नेताले कालिका दैनिकलाई बताए । जीतनारायण श्रेष्ठको कालिकाको पहाडी वडाहरू वडा नं. ८, ९, १० र ११ मा बढी प्रभाव रहेको मानिदैँ आएको छ भने अन्य वडाहरूमा पनि उनको प्रभाव राम्रै रहेको बताइएको छ ।
त्यस्तै अर्का सभापतिका युवा उम्मेदवार लिला बहादुर गुरूङ्ग पनि कालिका नगर सभापतिको बलियो उम्मेदवारका रूपमा चिनिएका छन् । हाल कालिका नगरपालिका वडा नं. १ का जननिर्वाचित वडा अध्यक्ष गुरूङ्गको कालिका क्षेत्रमा राम्रो प्रभाव रहेको पाईन्छ । नेपाली कांग्रेस संस्थापन समूह शेर बहादुर देउवा प्यानलका रूपमा चिनिएका गुरूङ्गले कालिकाका सबै वडाबाट राम्रो मत अन्तरले विजयी हुने कांग्रेसका एक नेताले कालिका दैनिकलाई टेलिफोनमा बताए । हाल उनी जननिर्वाचित प्रतिनिधि भएका कारण कालिकाका सबै वडामा उनको प्रभाव रहेकोले उनलाई कालिकामा सभापतिको बलियो उम्मेदवारको रूपमा हेरिदैँ आएको छ ।
कालिका नगर सभापतिमा केही दिन अगाडि आधा दर्जन भन्दा बढीले उम्मेदवारी घोषणा गरे पनि यो समाचार तयार पार्दासम्म गुरूङ्ग, के.सी. र शिव पौडेलको सभापतिमा उम्मेदवारी दावी रहेको बुझिएको छ । नेपाली कांग्रेसको गगन थापा निकट हाल पौडेल समूहकै रूपमा चिनिएका शिव प्रसादले भने भोलि शनिबार उम्मेदवारी दर्ता गर्ने समयसम्ममा उम्मेदवारी फिर्ता लिने सम्भावना रहेको एक कांग्रेस नेताले बताए ।
उता सचिव पदका बलिया उम्मेदवारहरूका रूपमा फणिन्द्र लामिछाने, अर्जुन फुयाल, राजन रेग्मी, साजन थापामगर, मन कुमार गुरूङ्गको उम्मेदवारी दावी रहेको बताइएको छ । यद्यपी कांग्रेसको नगर सचिवमा फणिन्द्र लामिछाने बलियो उम्मेदवारको रूपमा रहेको बुझिएको छ । उनी रामचन्द्र पौडेल समूहबाट र राजन रेग्मी संस्थापन अर्थात् देउवा समूहबाट उम्मेदवारी कायम रहन सक्ने बताइएको छ । यद्यपी निर्वाचन तालिका भोलि शनिबार बिहानबाट सुरू हुने भएकोले सो समय भन्दा अगाडि समूहगत उम्मेदवारी क–कसले दर्ता गर्ने छन् त्यसबाट नै उम्मेदवारहरू को बलियो भन्ने थाहा हुने एक कांग्रेस नेताले बताए ।
कालिका नगरपालिकाको ११ वटा वडाबाट छनोट भएका २ सय २० जना नगर प्रतिनिधिहरूले भोलि हुने १४औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान गर्ने छन् । कालिकाको अन्य पदाधिकारी र सदस्य हरुमा प्यानल कै रूपमा उम्मेद्बारी पर्ने भएकोले भोलि उम्मेद्बारी दर्ता पछी मात्र सबै पदमा क-कसको प्रतिस्पर्धा हुने निर्क्योल हुने बताईएको छ । आज रातभरको समीकरणको छलफलले को- को कुन- कुन प्यानलमा रहने निर्कोल हुने बुझिएको छ ।
हालका सभापति राजु श्रेष्ठले उम्मेदवारी नदिने सङ्केत
हालका नेपाली कांग्रेस कालिका नगर सभापति राजु श्रेष्ठले भने उम्मेदवारी नदिने सङ्केत गरेका छन् । उनले आफू सहमति, सहकार्यबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएको र पार्टीद्वारा गठित सर्वसम्मत नेतृत्व चयन गर्ने पहल समितिले सर्वसम्मत गराउन पहल नगरेको भन्दै दुःखेसो पोखेका छन् । सर्वसम्मत रूपमा आफू पुनः नगर सभापति पाउनुपर्ने आफ्नो दावी भएको बताए पनि जिल्ला नेतृत्वले आफूलाई नस्वीकारेकोमा सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले घुमाउरो पारामा दुःखेसो व्यक्त गरेका हुन् ।