शिशिर सिंखडा, चितवन । अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला आजबाट चितवनमा शुरु भएको छ । सो भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले आज भरतपुरमा उद्घघाटन गर्नु भएको थियो । सो भेलालाई उद्घघाटन गर्दै उहाँले किसानको बिकास र समृद्धिले मात्र देश बिकास सम्भव हुने बताउनु भयो ।
कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई ब्यबस्थित गर्नुपर्ने आजको आबस्यकता रहेको बताउनु भयो । भुमिहिन किसानको समस्या समाधान गर्न गठन गरिएको भुमि समस्या समाधान आयोग खारेज गरेर यो बुर्जुवा सरकारले किसानहरुलाई दरिद्रता तर्फ धकेलेको आरोप लगाउनु भयो ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका ईन्चार्ज शम्भु सुबेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अबसरमा नेकपा एमाले चितवनका अध्यक्ष पार्बती रावल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, बागमती प्रदेशका पुर्व कृषि मन्त्री दावाद्वाेर्जे लामा लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।
विषयगत उत्पादक, सामुदायिक र बर्गिय किसानका २२ संगठनका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको छ । भोलि सम्म जारी रहने सो संयुक्त राष्ट्रिय भेलामा किसानका सबै प्रदेश कमिटी र ७७ जिल्लाका ३०० भन्दा बढी किसान प्रतिनिधिको सहभागीता रहेको अखिल नेपाल किसान महासंघ चितवनका सचिव सिपी अधिकारीले जानकारी दिनुभयो।
भेलामा २२ विषयगत संघको समुहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुने छ । भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठानगरि अगाडी लगिने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिनुभयो ।
राष्ट्रिय भेला पश्चात किसान महासंघले भोलि शनिबार चितवन घोषणा पत्र जारी गर्ने समेत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !